Main News

सापु रोगका बिरामी बढ्दै, पाँच जनाको दृष्टि गुम्यो, सतर्कता अपनाउन सुझाव (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज ८ गते २१:२३
सापु रोगका बिरामी बढ्दै, पाँच जनाको दृष्टि गुम्यो, सतर्कता अपनाउन सुझाव (भिडियो रिपोर्टसहित)

८ असोज २०७८ काठमाडौं । गण्डकी प्रदेशमा सापु रोगका बिरामी बढ्न थालेका छन् । सेतो पुतलीको कारण आँखामा लाग्ने यो रोगले बालबालिकामा बढी असर पुर्याएको छ । हिमालय आँखा अस्पताल पोखरामा अहिले ५५ जना सापुका बिरामी आएकोमा पाँच जनाको दृष्टि गुमेको छ ।

कम्प्युटर चलाउन गार्‍हो भएपछि बागलुङकी लक्ष्मी केसीले स्थानीय क्लिनिकमा उपचार गराउनुभयो । स्वास्थ्यकर्मीले आँखामा राख्ने औषधि दिए, तर निको भएन । त्यस पछि केसी अर्को मेडिकलमा जानुभयो अनि त्यहाँ सापु भन्ने पत्ता लाग्यो, त्यसपछि पोखरामा रहेको हिमालय आँखा अस्पताल पुग्नुभयो । आँखा नदेखिने, मधुरो हुँदै जाने, घाममा हेर्न नहुने जस्ता लक्षण देखिए पछि उपचार अस्पताल पुगेकी लक्ष्मीको अवस्थामा अहिले सुधार आएको छ ।

लक्ष्मी जस्तै आँखामा समस्या भए पछि कास्की, लमजुङ, तनहुँ, स्याङ्जा, म्याग्दी र बागलुङबाट सापुका बिरामी आँखा अस्पताल आएका छन् । आँखाको नानी नचल्ने, आँखा धमिलो हुने, हेर्न अप्ठ्यारो भएर अस्पतालसम्म आएको पीडितहरु बताउँछन ।

पानी पर्न कम भएसँगै यो रोग देखापर्ने र पुस र माघसम्म पनि सापुका विरामी भेटिन्छन् । यो रोग लागेपछि आँखा रातो हुने, चिप्रा नलाग्ने, उज्यालोमा हेर्न नसकिने, आँखाको दृष्टि तत्कालै घट्छ, नानीमा पिप जमे पछि सेतो हुने चिकित्सक बताउँछन् । तत्काल दुखाइ नहुने भएकाले विरामीहरु ढिलो अस्पताल आउने गरेका कारण आँखाको दृष्टिनै गुम्ने गरेको छ ।

२०३२ सालमा पहिलो पटक पोखरामा देखा परेको यो रोग एक वर्ष विराएर देखिने गरेको छ । एक वर्ष विराएर देखा पर्ने सापु अगष्ट देखि अक्टोबरसम्म देखिन्छ । यो सिजनको अझै केही समय सापु रोग लाग्ने सक्ने भएकाले सचेत रहन चिकित्सकले सुझाव दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *