राजनीति

तोकिएको मितिमा कांग्रेस महाधिवेशन हुनेमा आशंका (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज ८ गते २१:१८
तोकिएको मितिमा कांग्रेस महाधिवेशन हुनेमा आशंका (भिडियो रिपोर्टसहित)

८ असोज २०७८ काठमाडौं । संवैधानिक बाध्यताका कारण नेपाली कांग्रेस आन्तरिक विवादकै बीच महाधिवेशनमा होमियो । भदौ १८ गते वडा अधिवेशन शुरु भएपछि पार्टीभित्रको किचलो अन्त्य हुने र निर्धारित मितिमै महाधिवेशन सम्पन्न हुने अपेक्षा गरिएको थियो ।

तर मंसिरमा तोकिएको केन्द्रीय महाधिवेशनको मिति नै सार्ने प्रस्ताव बाहिरिएपछि कांग्रेसको घरझगडा र किचलो थप पेचिलो बनेको छ भने तोकिएको मितिमै महाधिवेशन सम्पन्न हुनेमा आशंका जन्माएको छ ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति मंसिरको ९ गतेदेखि १३ गतेसम्म काठमाडौंमा तय गरिएको छ । क्रियाशील सदस्यताको विवाद र आन्तरिक किचलोका कारण पटक पटक सर्दै आएको महाधिवेशन संवैधानिक बाध्यताले गर्दा नेताहरु भदौ १८ गतेदेखि वडा अधिवेशन सुरु गरेर मंसिरमा केन्द्रीय महाधिवेशन सम्पन्न गर्न सहमत भएका थिए ।

सहमति अनुसार नै भदौ १८ गतेबाट वडा अधिवेशन सुरु भयो र कार्यतालिका परिवर्तन गर्दै भए पनि हालसम्म ६४ वटा जिल्लामा मात्रै वडा अधिवेशन सम्पन्न भएको छ । क्रियाशील विवाद कै कारण अझै १३ जिल्लामा वडा अधिवेशन सम्पन्न हुन सकेको छैन। जबकी पछिल्लो पटक संशोधन गरिएको तालिकाअनुसार अहिलेसम्म वडा अधिवेशन सम्पन्न भैसक्नु पर्ने थियो ।

यसैबीचमा केन्द्रीय महाधिवेशनको मितिसमेत नै सार्ने प्रस्ताव भएको विषय बाहिर आएपछि निर्धारित मिति मंसिरमा केन्द्रीय महाधिवेशन हुनेमा कांग्रेस कार्यकर्ता र शुभेच्छुक मात्रै नभएर पार्टीका जिम्मेवार नेताहरु नै विश्वस्त हुन सकेका छैनन् ।

केन्द्रीय सदस्य गगन थापाले आफूखुसी कार्यतालिका हेरफेर गर्ने परिपार्टीले महाधिवेशनलाई अनिश्चित बनाएको र मंसिरमा महाधिवेशन सम्पन्न हुन्छ भन्नेमा आफूपनि ढुक्क हुन नसकेको बताउनु हुन्छ ।

पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले भने कार्यतालिकामा हेरफेर भए पनि केन्द्रीय महाधिवेशनको मिति सार्ने विषयमा कुनै छलफल नभएको र सार्नै पर्ने अवस्था आएको खण्डमा केन्द्रीय कमिटीको बैठकले विधिपूर्वक निर्णय लिने दाबी गनुहुन्छ ।

नेपाली कांग्रेस भित्रको दुई समूह संस्थापन र इतरपक्षका बीचमा रहेको मतभेदको असर महाधिवेशनमा देखिएको छ । इतरपक्ष निर्धारित मितिमै र निश्पक्ष महाधिवेशन हुनेमा आशंका व्यक्त गरिरहेको छ भने संस्थापनपक्षले महाधिवेशनको मिति तोकिएपछि पौडेलपक्षले आफ्नो फाइदाको लागि मिति सार्ने प्रस्ताव गरेको आरोप लगाउछ ।

लामो छलफल र बहसपछि सहमतिमै महाधिवेशनको मिति निर्धारण गरे पनि ससाना बिषयमा एकअर्को पक्षलाई आरोपित गरेर कांग्रेस नेताहरुले जगहँसाइ गरेका छन् । तर तोकिएकै समयमा महाधिवेशन गर्नै पर्ने संवैधानिक बाध्यतामा गरिएको खेलवाडले शुभेच्छुकहरुमा भने चिन्ता थपेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्