Main News

भागबण्डा मिलाउन एकीकृत समाजवादीमा जम्बो कमिटी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज ८ गते २१:०९
भागबण्डा मिलाउन एकीकृत समाजवादीमा जम्बो कमिटी (भिडियो रिपोर्टसहित)

८ असोज २०७८ काठमाडौं । एमाले विभाजन गरेर जन्मिएको नेकपा (एकीकृत समाजवादी) पार्टीले सबैभन्दा ठूलो केन्द्रीय कमिटी बनाएको छ । प्रतिनिधित्वका हिसाबले संघीय संसदमा चौथो बनेको यो पार्टीले केन्द्रीय कमिटीलाई चुस्त बनाउनुको साटो भागबण्डा मिलाउन जम्बो केन्द्रीय कमिटी निर्माण गरेको हो ।

नेता प्रधान होइन, नीति प्रधान र व्यक्ति प्रधान होइन विधि प्रदान भन्ने नारा दिएको नेकपा एकीकृत समाजवादी पार्टीले ३ सय १ सदस्यीय केन्द्रीय समिति बनाएको छ । जसमा १८ सदस्यीय पदाधिकारी, ३५ सदस्यीय स्थायी कमिटी र ७१ सदस्यीय पोलिटब्युरो समिति गठन गरेको छ । यति मात्र होइन ७ सय १ सदस्यीय केन्द्रीय परिषद् गठन गर्ने निर्णय यो पार्टीले गरेको छ । नेतालाई प्रधानता दिने होइन भनेर दिइएको गफलाई हावा खुवाउँदै नव गठित यो पार्टीले सबैभन्दा ठूलो केन्द्रीय कमिटी बनाएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले लगाउने गरेको पद नपाएर पार्टी फुटाएको आरोपलाई पुष्टि गर्ने गरी माधव कुमार नेपालले आफूलाई अध्यक्ष पदमा विराजमान गराएर सबैजसो नेतालाई केही न केही पदले सुशोभित गर्नुभयो ।

त्यसैले होला समाजवादी पार्टीले पदाधिकारी चयन गरेकै दिन ओलीले यो पार्टीलाई पदाधिकारी पार्टीको संज्ञा दिनुभयो । विगतमा नेकपा एमाले र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपा हुँदा अध्यक्ष ओलीको आलोचनामा आफ्नो शक्ति खर्चिएका सबैजसो नेताहरुले अध्यक्षदेखि सचिवसम्मको पदाधिकारी पद प्राप्त गरेका छन् । पदाधिकारीमा अटाउन नसकेका केन्द्रीय कमिटीमा र त्यहाँ पनि छुट्ने सम्भावित नेताहरुका लागि केन्द्रीय परिषद्मा राख्ने योजना यो पार्टीले बनाएको छ ।

यत्रो जम्बो केन्द्रीय कमिटी बनाउँदा पनि समाजवादी पार्टीले नयाँ पुस्तालाई विश्वास गर्न सकेको देखिँदैन । प्रमाणपत्र प्राप्तिको हिसाबले नयाँ भए पनि पुरानै नेताको व्यवस्थापन टाउको दुखाईको विषयले पदाधिकारी चयन र केन्द्रीय कमिटी गठनमा देखिएको भद्रगोलको अवस्थालाई ‘संकट व्यवस्थापन’ भनिएको छ ।

नेताहरुले दाबी गरेजस्तो संकट व्यवस्थापन नै गरिएको हो भने पनि अवसर पाएका वा पटकपटक परीक्षण भैसकेकालाई नै किन कुनै न कुनै पदमा विराजमान गराउनु पर्यो त रु भन्ने प्रश्न स्वभाविक रुपमा उठेको छ ।

नयाँलाई अबसर नदिने, पदीय जिम्वेपारी पाएकाहरुसँग समेत कहिल्यै साक्षात्कार नगर्ने प्रवृत्तिले भागशान्ति बाहेक कुनै उल्लेख्य उपलब्धि हासिल हुन नसकेका उदाहरण प्रशस्तै छन् । नयाँ पार्टी विचारमा स्पष्ट, संगठनमा तन्दुरुस्त र व्यवहारमा कुस्त बनाउनु पर्नेमा जम्बो केन्द्रीय कमिटीको भार बोक्न नसकेर यो पार्टी झनै सुस्त पो हुने हो कि ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *