Main News

विश्वमञ्चमा मुलुककाे प्रतिनिधित्व गर्ने परराष्ट्रमन्त्री कस्ताे हुनुपर्छ ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज ६ गते २०:४३
विश्वमञ्चमा मुलुककाे प्रतिनिधित्व गर्ने परराष्ट्रमन्त्री कस्ताे हुनुपर्छ ? (भिडियो रिपोर्टसहित)

६ असोज २०७८ काठमाडौं । नेपालको कूटनीतिक शैली वा परराष्ट्र नीतिबारे सँधैजसो बहस भइरहन्छ । अन्तर्राष्ट्रियय मञ्चमा नेपालको गतिलो उपस्थिति देखाउने परराष्ट्र मन्त्री वा राजदूत नियुक्तिमै लापारबाही गरिँदा नेपालको साख गिर्दो अवस्थामा छ । विश्वमञ्चमा मुलुकको प्रतिनिधित्व गर्ने परराष्ट्र मन्त्री कस्तो हुनुपर्ला ?

लामो समयदेखि मन्त्रिपरिषद् विस्तार गर्न नसक्नु भएका प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त राष्ट्र संघको महासभामा प्रतिनिधि पठाउनै पर्ने भएपछि अन्तिम घडीमा आफ्नै पार्टीका नेता डा. नारायण खड्कालाई परराष्ट्र मन्त्रीमा नियुक्त गर्नुभयो ।

उसै पनि नेपालको कूटनीतिक शैलीको बेलाबखत आलोचना र बहस हुने गरेकोमा सरकारको नेतृत्व गर्नेहरुको यस्तो प्रवृत्ति पुनः दोहोरिँदा पुन यो बहस शुरु भएको छ । अन्तिम घडीमा नियुक्त भएका मन्त्रीले सरकारको विदेशी मित्र राष्ट्रप्रतिको नीति र दृष्टिकोण कसरी प्रस्तुत गर्लान् ? आँफैमा एउटा प्रश्न छ । मन्त्री नियुक्तिकै पूर्वसन्ध्यामा सरकारले चीन, अमेरिका, बेलायतलगायतका देशका राजदूतलाई पनि फिर्ता बोलाएको छ ।

वर्षौँदेखिको अपरिपक्व कूटनीतिक शैली यसपटकको सरकारले पनि दोहोर्याएको छ । देशभित्र त सबैथोक भागबण्डामै हुने गरेकामा विश्वसँग साक्षात्कार गर्नुपर्ने पदहरुमा यस्तो नहोस् र एउटा परिपक्व कूटनीतिक संस्कार मुलुकले निभाउन सकोस् भन्ने आम अपेक्षा प्रत्येक पटक धुलिसाप हुने गरेको छ । यसले देशको कूटनीति र इज्जत दुवैमाथि खतराको बादल मडारिएको विज्ञहरु बताउछन् ।

कूटनीतिको क्षेत्रमा मन्त्री वा राजदूतको उपस्थितिले मुलुकको प्रतिनिधित्व गर्छ । मुलुकको भाषा, संस्कृति र प्रवृत्ति पनि कूटनीतिकै माध्यमबाट विश्वसामु झल्किने हो । त्यसैले नेपालका परराष्ट्र मन्त्री र राजदूतको योग्यता र क्षमता बारे पटकपटक बहस हुने गरेको हो ।

नेपालको परराष्ट्र नीतिदेखि नेपालस्थित विदेशी नियोगलाई नियन्त्रण र परिचालन, नेपालसम्बन्धी प्रचार प्रसार संयुक्त राष्ट्रसंघ तथा अन्तर्रराष्ट्रिय वा क्षेत्रीय संस्थाहरू संगको सम्बन्ध, सुपुर्दगी र राहदानीसम्मको जिम्मेवारी लिएको यो मन्त्रालयमा आउने मन्त्रीमा आवश्यक गुण नभए देशको कूटनीतिदेखि शान्ति सुरक्षासम्म नै असर पर्न सक्छ ।

पछिल्लो समय दार्चुलाको तुइन प्रकरण र चीनसँगको सीमा निरीक्षणका लागी बनाइएको समितिलाई कुटनीतिसंग जोडेर सरकारको धेरै आलोचना भएको छ । तर पनि सत्ताको बागडोर सम्हाल्ने दलहरुले कूटनीतिसँग जोडिएको परराष्ट्र मन्त्रालयमा योग्यताको भन्दा पनि निकटता र अनुकुलताको आधारमा गर्ने मन्त्री नियुक्तिले मुलुकको साख सँधै कमजोर हुने गरेको छ । पार्टीभित्रैबाट पनि सम्बन्धित क्षेत्रको विज्ञ वा विभागीय नेतृत्व गरेकालाई जिम्मा दिन सके केही न केही राम्रो सन्देश जान सक्छ ।

सरकारमा हरेक पटक नयाँ परराष्ट्र मन्त्री आउँदा राजदूत नियुक्तिको मापदण्ड बन्छ । राजदूत नियुक्तिमा जस्तै मन्त्री बन्न पनि विश्व राजनीति र सम्बन्ध बुझेका र कम्तीमा अंग्रेजी भाषामा राम्रो दख्खल भएको व्यक्ति हुनुपर्ने मापदण्ड बनाउन सके अन्तर्राष्ट्रिय जगतमा नेपालको उपस्थिति, पहिचान र अडान स्पष्ट हुन सक्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *