Main News

प्रहरीको आलोचना : स्याबासी पाउने लोभमा हतारमा निष्कर्ष ! (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज ६ गते २०:०२
प्रहरीको आलोचना : स्याबासी पाउने लोभमा हतारमा निष्कर्ष ! (भिडियो रिपोर्टसहित)

६ असोज २०७८ काठमाडौं । संखुवासभा हत्याकाण्डबारे प्रहरीले एक साताको अवधिमा संदिग्धबारे फरक विवरण सार्वजनिक गरेपछि प्रहरी अनुसन्धानमाथि नै प्रश्न उठेको छ ।

घटनाको एक सातामै एक मात्र अभियुक्त लोकबहादुर कार्की भएको निष्कर्ष निकालेको प्रहरीले १४ दिनपछि अन्य ४ जनाको समेत संलग्नता पाइयो भन्दै आरोपीत सार्वजनिक गरेपछि प्रहरी प्रशासनमाथि नै प्रश्न उठेको हो । स्याब्बासी पाउने लोभमा हतारमा निष्कर्षमा पुगेको भन्दै प्रहरी प्रशासनको आलोचना भएको छ ।

संखुवासभाको मादी गाउँपालिका वडा नम्बर १ उम्लिङमा एकै परिवारका ६ जनाको हत्यामा एक हप्तामै दोषी पहिचान गरी अनुसन्धानको दायरामा ल्याउन सफल भएको भन्दै प्रदेश १ प्रहरी कार्यालय प्रमुख डीआईजी अरुण बिसीसहित ५ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरियो । तर त्यसको एक सातामै प्रहरीको अनुसन्धान अपुरो भएको पुष्टि भयो ।

शुरुमा मृतककै आफन्त लोकवहादुर कार्कीले सनकमा एउटा चिर्पट मात्र प्रयोग गरी सबै ६ जनाको हत्या गरेको निश्कर्षमा प्रहरी पुगेको थियो । तर अहिले प्रहरीले घटना योजनाबद्ध रहेको र थप ४ जना पनि घटनामा सामेल भई चिर्पटका साथै छुराको समेत प्रयोग भएको जनायो ।

अझ घटनाका मुख्य योजनाकार खड्गबहादुर कार्कीको घरमा बसेर अनुसन्धान गरेको प्रदेशदेखि संघसम्मको प्रहरी टोलीले त्यसको सुइको समेत पाएन । यसलाई लिएर प्रहरीको आलोचना भइरहेको छ । तर प्रहरी भने घटनाको अनुसन्धान जारी नै रहेकाले समयान्तरमा फरक विवरण आउनुलाई अन्यथा मान्न नहुने बताउँछ ।

प्रहरी अनुसन्धानमा प्रश्न उठेको यो पहिलो घटना भने होइन । २०७५ साल साउनमा कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धान प्रहरीको लागि निकै पेचिलो बन्यो । घटनाको अनुसन्धान सुस्त भएको, प्रमाण प्रहरी आफैँले नष्ट गरेको र दोषीको पहिचान गर्न नसकेको भन्दै चर्को आलोचना र दबाब प्रहरीले खेप्यो ।

घटनामा प्रहरीकै उच्च अधिकारीहरु समेत अनुसन्धानको दायरामा तानिए । शुरुवातमा प्रहरीले हतारमा अभियुक्त भनी ठहर गरेको बिष्टलाई नै अन्तिममा पनि अभियुक्त ठहर गरेर अनुसन्धानलाई किनारा लगायो । बैतडीकी भगिरथी भट्टको हत्यासम्बन्धमा भएको प्रहरी अनुसन्धानको पनि आलोचना भयो । यस्ता थुप्रै उदाहरण छन् । हतार गर्दा नतिजा फरक आउन सक्ने भन्दै नेपाल प्रहरीका पूर्व एआईजी पुष्कर कार्की दबाब खेप्न सक्ने क्षमता प्रहरीसँग हुनुपर्ने बताउनुहुन्छ ।

नेपाल प्रहरी अनुुसन्धानमा एसियामै सफल प्रहरीको रुपमा चिनिने गरेको छ । प्रहरीले धेरै अनुसन्धानमा ठूला सफलता हात पारेको धेरै उदाहरण समेत छन । तर गम्भिर अपराधका कतिपय घटनामा संयमता गुमाउँदा अनुसन्धान नै गलत दिशामा जानसक्ने र यसले प्रहरी प्रशासनको साख गिर्न सक्ने खतरा रहन्छ ।

कामको जस आफूले लिने लोभले घटनास्थलको सुक्ष्म अध्ययन, घटनाको गाम्भीर्यता, गाउँलेसँगको कुराकानी, आसपासका गतिविधिलाई नजरअन्दाज गर्दा प्रहरी अधिकारी र समग्र संगठनमाथि नै अविश्वास बढ्ने खतरा रहन्छ। समाजमा शान्ति सुव्यवस्था कायम गर्ने जिम्मेवार निकायले प्रचारमुखी बन्न लालायीत हुनभन्दा तथ्यपरक भएर अनुसन्धानमा खटिन आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *