सरकार गठन भएको ६७ दिनपछि डा. नारायण खड्का परराष्ट्रमन्त्री नियुक्त
६ असोज २०७८ काठमाडौं । सरकार गठनको ६७ दिन पछि प्रधानमन्त्री शेरबहादुर देउवाले आज परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता डा. नारायण खड्का नियुक्त गर्नुभएको छ । मन्त्री खड्का आजै पदभार ग्रहण गरेर राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाँदै हुनुहुन्छ ।
परराष्ट्रमन्त्रीमा नियुक्त डा. खड्काको शपथ ग्रहण समारोह अहिले केहीबेरमा हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले अहिले केहीबेरमा शपथको समय निर्धारण गरिएको जानकारी दिनुभयो ।
कांग्रेस नेता खड्काले आजै कार्यभार सम्हालेर संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाने कार्यक्रम छ । सत्ता गठबन्धनका नेताहरुको हिजो बसेको बैठकमा डा. खड्कालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने सहमति भएको थियो ।
असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले त्यही दिन चार मन्त्री नियुक्त गर्नुभएको थियो । कांग्रेसबाट बालकृष्ण खाँण गृह र ज्ञानेन्द्रबहादुर कार्की कानूनमन्त्री नियुक्त हुनुभएको थियो ।
माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जामन्त्रीमा कार्यरत हुनुहुन्छ । यस्तै साउन १० गते कांग्रेस सांसद उमेश श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्नुभएको थियो ।
अग्रगमनको नारासहित गठबन्धन सरकार बनेपनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्दा सरकारको चौतर्फी आलोचना भइरहेको छ ।
प्रतिक्रिया