Main News

देउवा नेतृत्वको सरकारले तत्काल पूर्णता नपाउने निश्चित, खड्का परराष्ट्रमन्त्री नियुक्त हुँदै

हिमालय टिभी
२०७८ असोज ६ गते ७:३२
देउवा नेतृत्वको सरकारले तत्काल पूर्णता नपाउने निश्चित, खड्का परराष्ट्रमन्त्री नियुक्त हुँदै

६ असोज २०७८ काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले तत्काल पूर्णता नपाउने भएको छ । कांग्रेसको भागमा परेको परराष्ट्र मन्त्रालयमा आज मन्त्री नियुक्त गरिँदैछ ।

हिजो साँझ बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले कांग्रेसलाई परराष्ट्र मन्त्रालय दिने सहमति भएसँगै आज एक जना मन्त्री नियुक्तिको तयारी भएको हो । आज कांग्रेस सांसद डा. नारायण खड्का परराष्ट्र मन्त्रीमा नियुक्त हुँदै हुनुहुन्छ ।

सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच हिजो साँझ भएको छलफलमा परराष्ट्रमन्त्री तत्काल नियुक्त गर्ने सहमति भएको हो । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले डा. नारायण खड्कालाई परारष्ट्रमन्त्री बनाउने जानकारी गठबन्धन बैठकमा दिनुभएको छ ।

कांग्रेसको आन्तरिक समीकरणमा थप उथलपुथल नभए खड्काले आज पद तथा गोपनीयताको शपथ लिने तय भएको छ । अरु मन्त्रालय भागबण्डाबारे छलफल गर्न आज फेरि गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्ने भएको छ ।

असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले त्यही दिन चार मन्त्री नियुक्त गर्नुभएको थियो । कांग्रेसबाट बालकृष्ण खाँण गृह र ज्ञानेन्द्रबहादुर कार्की कानूनमन्त्री नियुक्त हुनुभएको थियो । माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जामन्त्रीमा कार्यरत हुनुहुन्छ ।

यस्तै साउन १० गते कांग्रेस सांसद उमेश श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्नुभएको थियो । अग्रगमनको नारासहित गठबन्धन सरकार बनेपनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्दा सरकारको चौतर्फी आलोचना भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *