Main News

पहिरो पीडितबाट यसरी कुटिए बुटवलका मेयर (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज ४ गते २०:४१
पहिरो पीडितबाट यसरी कुटिए बुटवलका मेयर (भिडियो रिपोर्टसहित)

४ असोज २०७८ बुटवल । चुरे क्षेत्रबाट आएको पहिरोले बुटवलको ज्योतिनगरमा दुई दर्जन घरमा क्षति भयो । पहिरोले घर भत्काएपछि स्थानीय बासिन्दाको बिचल्ली छ । त्यै पहिरोले गरेको क्षतिको अवलोकन गर्न पुगेका बुटवलका मेयरमाथि स्थानीय बासिन्दाले हातपात गरे । त्यसपछि पहिरोले त्रस्त ज्योति नगर तनावग्रस्त भयो ।

बुटवलको ज्योतिनगरमा पहिरोको अवलोकन गर्न पुगेका मेयर शिवराज सुवेदीमाथि हातपात भएको दृश्य हो यो ।

मेयर सुवेदी पहिरोले क्षति गरेको ठाउँतिर अघि बढ्दै हुनुहुन्छ । यही बेलामा पछाडिबाट हतार हतार आएर ज्योति नगरकै गणेश पंगेनीले मेयरलाई यसरी मुक्का हान्छन् ।

प्रहरी र नगर प्रहरीले मेयरलाई जोगाउँछन् । मुक्का हान्ने पंगेनीलाई समाउँछन् । पछि एमालेका कार्यकर्ता पनि पहिरोस्थलमा पुग्छन् । मेयरलाई कुट्ने गणेशलाई खोज्छन् । पहिरोले बगर बनेको ठाउँमा अर्को तनाव थपिन्छ ।

ज्योतिनगरका बासिन्दामा आक्रोश थपिन्छ । स्थानीयबासिन्दा यसरी आक्रोशित हुनु र मेयरमाथि नै जाइलाग्नुको कारण छ । पटक पटक पहिरो आएपछि उनीहरुले यहाँको नाली सफा गर्न र रोकथामका लागि काम गर्न वडा तथा उपमहानगरपालिकालाई एक हप्ता अघि नै भनेका थिए ।

तर उनीहरुको माग सुनुवाई भएन । गएरातिदेखि वर्षा भयो । चुरेबाट ढुङ्गा, माटो, रुखसहितको पहिरो बग्न थाल्यो । त्यही लेदो नालीमा भरियो । नाली भरिएपछि बस्तीमा पहिरो पस्यो ।

घर र मान्छे पुर्‍यो । बस्दै आएको घर गुमाउनु पर्‍यो । जिउमा लगाएको कपडा बाहेक केही रहेन ।

ज्योतिनगरसहित चुरेको फेदीमा रहेका बुटवलका अधिकांश ठाउँमा पहिरोको यस्तै जोखिम छ । तर पहिरो रोकथामका लागि कुनै काम भएको छैन । बुटवलको शिरमा पर्ने ज्योतिनगरको पहिरो नरोकिए यसबाट सिङ्गो बुटवल नै प्रभावित हुने विज्ञहरूले चेतावनी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *