Main News

स्वास्थ्य राज्यमन्त्री समस्यालाई बेवास्ता गर्दै कर्मचारी सरुवा-बढुवामा व्यस्त (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज ४ गते २०:३५
स्वास्थ्य राज्यमन्त्री समस्यालाई बेवास्ता गर्दै कर्मचारी सरुवा-बढुवामा व्यस्त (भिडियो रिपोर्टसहित)

४ असोज २०७८ काठमाडौं । नागरिकलाई स्वास्थ्य सेवा सहज रुपमा दिन नीतिगत पहल गर्ने कर्तव्य स्वास्थ्य मन्त्रालयको हो । प्रत्येक नागरिकको स्वास्थ्यको जिम्मेवारी लिएको यो मन्त्रालय पछिल्लो समय आफै अस्वस्थ्य देखिएको छ ।

कोरोना महामारीका बीच सरकार परिवर्तन भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले साउन १० गते व्यवसायी उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गर्नुभयो ।

देउवा पत्नी आरजु राणाका बिजनेश पार्टनर श्रेष्ठलाई राज्यमन्त्री बनाइएको भन्दै सर्वत्र आलोचना भयो। तर श्रेष्ठले आफ्नो कार्ययोजना सार्वजनिक गर्दै काम गर्न नसके राजीनामा दिने अभिव्यक्ति दिनुभयो । अहिले भने मन्त्रालय सम्हालेको २ महिनामा श्रेष्ठका काम सम्झिनलायकभन्दा बिर्सन लायक धेरै देखिए ।

राज्यमन्त्री श्रेष्ठको आलोचना हुनुको कारण सरुवामा देखाएको अनावश्यक चासो हो । आफ्नो प्रतिबद्धतालाई टेबुलमूनि थन्क्याएर कसलाई सरुवा गर्ने र कसलाई बढुवा गर्ने भन्नेमा श्रेष्ठ सक्रिय देखिनु भएको छ । कांग्रेसको भातृसंगठनको दबाव र प्रभावमा परेर उहाँ कर्मचारीको साटफेरमा अल्झिएको आरोप लाग्न थालेको छ ।

विगत पाँच वर्षयता स्वास्थ्यका सूचकांक खस्कदै गएका छन् । कोरोना कहरपछि यो अवस्था झनै दयनीय छ । यस्तो समयमा जनताको सबैभन्दा बढी सरोकार भएको मन्त्रालय हाँक्ने व्यक्ति नै कमजोर हुँदा परिणाम भयावह बन्ने जोखिम बलियो बनेको छ ।

सरकारको प्राथमिकता खोप खरिदमा हुनुपर्थ्यो । तर पूर्ववत सरकारले व्यवस्था मिलाइदिएको बाहेक खोप खरिदमा थप प्रगति भएको छैन । त्यसैले स्वास्थ्य मन्त्रालयका अधिकारीहरु वर्तमान नेतृत्वलाई ३० वर्षयताकै खराब नेतृत्वका रुपमा विश्लेषण गर्छन्।

स्वास्थ्य मन्त्रीको रुपमा प्रधानमन्त्री शेरबहादुर देउवा नै रहे पनि राज्यमन्त्री श्रेष्ठले मन्त्रालयको जिम्मेवारीमा काँध थाप्ने अपेक्षा थियो ।

कोरोना महामारीसँग जुधिरहेका जनतालाई स्वास्थ्य सेवा दिन र प्रधानमन्त्री देउवालाई सफल बनाउन खरो उत्रिनुपर्नेमा २ महिनाको अवधिमा कुनै काम हुन सकेका छैनन् । बरु अनुभवी अधिकारीहरुलाई सरुवा गर्दा विभागीय कामसमेत प्रभावित बनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *