Main News

संसद बैठक आज बस्दै, विनियोजन विधेयक पारित गर्ने तयारी

हिमालय टिभी
२०७८ असोज ४ गते ७:४७
संसद बैठक आज बस्दै, विनियोजन विधेयक पारित गर्ने तयारी

४ असोज २०७८ काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज बस्दैछ । विपक्षीको अवरोधबीच आजको बैठकमा विनियोजन विधेयक पारित गर्ने तयारी गरिएको छ ।

सरकारले प्रतिनिधिसभाबाट आज विनियोजन विधेयक पास गर्ने तयारी गरेको हो । विधेयक पास गर्नेगरी कार्यसूची तय गरिएको छ । बैठक बिहान ११ बजे बस्ने छ ।

संसद सचिवालयका महासचिव भरतराज गौतमले विनियोजन विधेयकको मन्त्रालयगत एवं सचिवालय अन्तर्गतका विभिन्न शीर्षकहरुमाथि समूहीकृत छलफल गर्ने तय भएको जानकारी दिनुभयो ।

यस्तै मन्त्रालयगत रुपमा उठेका प्रश्नहरुको जवाफ दिने समय सभामुखले तोक्ने जानकारी सांसदहरुलाई गराइएको छ । संसद सचिवालयका अनुसार प्रतिनिधिसभामा शुरुमा विनियोजन विधेयकको मन्त्रालयत शीर्षकमाथि छलफल हुन्छ र सांसदहरुले उठाएको प्रश्नको जवाफ अर्थमन्त्रीले दिने तय भएको छ ।

छलफलपछि अर्थमन्त्रीले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्ने कार्यसूची छ । अर्थमन्त्रीको प्रस्तावउपर दफा दफा पास गरेर विनियोजन विधेयक पारित गर्ने सरकारको तयारी छ ।

विनियोजन विधेयक पारित भएपछि आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पनि पारित गरिने छ । भदौ २३ गते सुरु भएको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगातार नाराबाजी गर्दै आएको छ ।

आजको बैठकमा पनि नाराबाजीलाई निरन्तरता दिने एमालेको तयारी छ । संसदबाट बजेट पास नहुँदा मुलुक बजेट होलीडेमा छ । जसका कारण बिकास निर्माणका काममा प्रत्यक्ष असर परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *