Main News

अफगानिस्तानमा अलपत्र थप ३४ जना नेपालीलाई आज उद्धार गरिँदै

हिमालय टिभी
२०७८ असोज २ गते ७:५४
अफगानिस्तानमा अलपत्र थप ३४ जना नेपालीलाई आज उद्धार गरिँदै

२ असोज २०७८ काठमाडौं । अफगानिस्तानमा अलपत्र ३४ नेपालीलाई आज उद्धार गरेर स्वदेश ल्याइने भएको छ ।

अफगानिस्तानको अवस्था अझै सहज नभएपछि त्यहाँ रहेका बाँकी नेपालीलाई ल्याउन लागिएको हो । गैरकानुनी रूपमा अफगानिस्तान छिरेकाले उनीहरूसँग आवश्यक कागजपत्रसमेत छैन । उनीहरूलाई फर्काउन नयाँदिल्लीस्थित नेपाली दूतावासले समन्वय गरिरहेको छ ।

दिल्लीस्थित नेपाली दूतावासका उपनियोग प्रमुख रामप्रसाद सुवेदीका अनुसार नेपाली टोलीले आज बिहान १० बजे काबुल छाड्नेछन् । आफगानिस्तानबाट उड्ने चार्टर्ड विमानमा संयुक्त राष्ट्रसंघ यूएन र युनिसेफमा काम गरिरहेका करिब एक सय नेपाली पनि सँगै आउने उहाँको भनाइ छ ।

अलपत्र नेपालीलाई काबुलमा यूएनको सहयोगमा सुरक्षित रूपमा राखिएको छ ।

अमेरिकी सेनाले २० वर्षपछि अगस्ट ३० मा अफगानिस्तान छाडेपछि त्यहाँ नेपालीसहित विदेशी नागरिकको सुरक्षालाई लिएर प्रश्न उठिरहेको छ ।

सरकारले अफगानिस्तानमा करिब १५ सय नेपाली रहेको अनुमान गरेको थियो । तर, हाल करिब एक हजार नेपाली रहेको देखिन्छ । परराष्ट्र मन्त्रालयका अनुसार हालसम्म ९ सय ४० नेपालीको उद्धार भइसकेको छ ।

यसबाहेक अफगानिस्तानमा अलपत्र परेका थप नेपाली भने हालसम्म भेटिएका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *