Main News

मध्यपहाडी क्षेत्रमा सेतो पुतलीबाट लाग्ने सापु रोगको जोखिम बढ्दै

हिमालय टिभी
२०७८ असोज २ गते ७:४७
मध्यपहाडी क्षेत्रमा सेतो पुतलीबाट लाग्ने सापु रोगको जोखिम बढ्दै

२ असोज २०७८ काठमाडौं । पछिल्लो समय नेपालका मध्यपहाडी क्षेत्रमा सेतो पुतलीबाट लाग्ने सापु रोगको जोखिम बढ्दै गएको छ ।

मध्यपहाडी जिल्लाका कास्की, स्याङ्जा, गुल्मी, लमजुङ, बागलुङलगायतका जिल्लामा यो रोग देखिएको चिकित्सकले बताएका छन् । सापु रोगले आँखाको दृष्टि नै गुम्न सक्ने भएकाले आँखामा समस्या आउने बित्तिकै अस्पतालमा जान चिकित्सकको आग्रह छ ।

त्रिवि शिक्षण अस्पतालका आँखा रोग विशेषज्ञ डा सञ्जिव भट्टराईले भदौ महिनाबाट पुतलीको प्रजनन शुरु हुने भएकाले भदौदेखि मंसिर महिनासम्म यसको जोखिम रहेको बताउनुभएको छ ।

बालबच्चा बढी पुतलीसगँ खेल्न खोज्ने भएका कारण पनि बालबालिकामा यसको जोखिम उच्च रहेको उहाँको भनाइ छ । पोखरामा ५० भन्दा धेरै यस रोगका संक्रमितहरु उपचाररत रहेकाले यसको प्रकोप बढिरहेको उहाँको भनाइ छ ।

यो रोग लागेको लक्षण देखिनासाथ ४५ घण्टाभित्र उपचार शुरु भए सामान्य अवस्थामै ठिक हुने भए पनि ढिला हुँदा शल्यक्रिया नै गर्नुपर्ने चिकित्सकहरुको भनाइ छ ।

सापु रोग लाग्दा आँखा रातो हुने, उज्यालोमा हेर्न गाह्रो हुने, आँखाको कालो भागको बीचमा सेतो हुँदै जाने, ज्यादै छोटो समयमा दृष्टि कम हुँदै जाने, आँखा पाके जस्तो देखिए पनि चिप्रा पटक्कै नआउने सापु रोगका लक्षणहरु हुन् ।

नेपालमा यो रोग २०३२ सालमा पोखरामा देखापरेको थियो । त्यसको चार वर्षपछि मात्र डा मदन उपाध्यायको टोलीले यो रोगको नाम सापु राखेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *