Main News

पृथ्वी राजमार्गमा छिनछिनमा पहिरो र जाम, चालक र यात्रुलाई यस्तो सास्ती (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज १ गते १७:५७
पृथ्वी राजमार्गमा छिनछिनमा पहिरो र जाम, चालक र यात्रुलाई यस्तो सास्ती (भिडियो रिपोर्टसहित)

१ असोज २०७८ धादिङ । काठमाडौं प्रवेश गर्ने मुख्य राजमार्ग पृथ्वीराजमार्गमा हिजो आज दैनिक जाम हुने गरेको छ । छिनछिनमा जाने पहिरो र सडकको दूरावस्थाका कारण यो सडकखण्ड भएर हिँड्ने चालक र यात्रु सास्ती खेप्न बाध्य छन् ।

राजधानी भित्रने र बाहिरिने मुख्य राजमार्ग हो पृथ्वी राजमार्ग । तर नौबीसे–नागढुंगा सडकखण्ड राजमार्ग भन्न लायक भने छैन् । यो राजमार्गमा वर्षायाममा दर्जनौं स्थानमा पहिरो जाँदा यात्रु र चालकले पाउने सास्तीको बयान गरी साध्य छैन ।

दैनिक हजारौं सवारी साधन गुड्ने यो राजमार्गमा दर्जनौं स्थानमा सडक बिग्रेको धेरै समय भयो । तर ध्यान कसैको पुगेको छैन् ।

पछिल्लो समय नागढुंगा–सिस्ने खोला सुरुङमार्ग नजिकै दिनहुँ पहिरो जान थालेपछि घन्टौँ जाम हुन्छ । जाम खुलाउन ट्राफिक प्रहरीलाई पनि हम्मेहम्मे पर्दै आएको छ ।

त्यस्तै नौबीसे लगायतका स्थानमा सडकको अवस्था कहाली लाग्दो छ । ठूलाठूला खाल्डा, हिलाम्मे सडकका कारण साना मात्रै नभएर ठूला सवारी साधनलाई पनि यो क्षेत्र पार गर्न कठिन हुन्छ । सडकको दूरावस्थाको सबैभन्दा ठूलो मार एम्बुलेन्स र समयमा अस्पताल पुर्‍याउनुपर्ने बिरामीमा परेको छ।

सडक सुधार, मर्मत संभारको जिम्मेवार निकायले ध्यान नदिँदा पृथ्वीराजमार्ग भएर आवतजावत गर्ने यात्रुहरुले पनि सास्ती भोगिरहेका छन् ।

राष्ट्रिय राजमार्गमा सानो समस्या आउँदा पनि तत्काल समाधान हुने खालको व्यवस्था मिलाउनुपर्ने थियो । तर त्यसो हुन सकेको छैन् । वैकल्पिक राजमार्गको रुपमा रहेको धार्के सिता पाइला सडक खण्डलाई पनि सरकारले प्राथमिकतामा राख्न सकेको छैन् ।

जसको मारमा आम नागरिक परेका छन् । महत्वपूर्ण चाडपर्व दशैं, तिहार नजिँकिँदै जाँदा संघीय राजधानी काठमाडौंबाट ठूलो संख्यामा नागरिक गृह जिल्ला फर्किन्छन् । यो समय सवारीको चाप धेरै बढ्ने र यसले झनै समस्या निम्त्याउने निश्चित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *