चीनमा खरिद गरिएको ४४ लाख मात्रा खोप एकै दिन आइपुग्यो नेपाल

१ असोज २०७८ काठमाडौं । सरकारले चीनबाट खरिद गरेको ४४ लाख डोज भेरोसेल खोप आज काठमाडौं ल्याइएको छ ।
खोप ल्याउन गएराति चीन गएको नेपाल वायुसेवा निगमको वाइडबडी विमान आज दिउँसो काठमाडौ अवतरण भएको हो । सरकारले चीनबाट ६० लाख डोज खोप खरिद गरेकामा यसअघि १६ लाख खोप नेपाल आइसकेको छ।
भेरोसेल खोप यसअघि एक भाइलमा दुई डोज मात्र हुन्थ्यो। जसका कारण एक पटकको फ्लाइटमा ८ लाख भाइल ल्याउने गरिएको थियो। तर अहिले चीनले एक भाइलमा ५ डोजको खोप उत्पादन गर्दै आएको छ।
जसका कारण एकै पटक ४४ लाख डोज खोप ल्याउन सकिने भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव रोशन पोखरेलले जानकारी दिनुभयो ।
भेरोसेल खोप सुरुमा एक भाइलमा एक डोज, त्यसपछि एक भाइलमा दुई र अहिले एक भाइलमा पाँच डोज आउन थालेको हो।
नेपालमा अहिलेसम्म एक करोड ३३ लाख डोज खोप आइसकेको छ। सरकारले असोज मसान्तसम्म एक करोड थप खोप ल्याउने तयारी गरेको जनाएको छ।
प्रतिक्रिया