राजनीति

संसदमा सांसद नै भौतिक तोडफोड या भौतिक आक्रमणमा उत्रिएपछि…(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ ३० गते २१:०२
संसदमा सांसद नै भौतिक तोडफोड या भौतिक आक्रमणमा उत्रिएपछि…(भिडियो रिपोर्टसहित)

३० भदौ २०७८ काठमाडौं । सांसद जनताका प्रतिनिधि हुन्, जनताका प्रतिनिधिको भाषामा जनताको लवज आउनुपर्दछ । सांसदको क्रियाकलाप शालिन, भद्र र कानूनसम्मत् हुनुपर्दछ ।

पछिल्ला दिनमा संसदमा सांसदले गरेका हर्कतले सांसदलाई के भएको छ कुन्नी ? आम जनताले भने लाजले शीर निहुराएका छन् । एकजना जनताको प्रतिनीधी सांसदले जनताको करबाट निर्माण गरिएका भौतिक सामाग्री संसदमा बसेर निर्वाध तोडफोड गर्न हुन्छ कि हुँदैन ? पार्टीका माग र मुद्दा पूरा गराउन संसदमा भौतिक तोडफोडमा या भौतिक आक्रमणमा उत्रिने धम्की दिने सांसदलाई कानूनअनुसार कारवाही गर्नु जरुरी छ।

संसदमा नाराबाजी हुनु पनि स्वभाविकै हो । तर जनप्रतिनिधि नै भौतिक सम्पत्ति तोडफोड र शारीरिक आक्रमणमा उत्रने रवैयाले के संकेत गर्दछ ? नेकपा एमालेबाट संघीय प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसदले माइक मात्र तोडफोड गर्नुभएन, बरु आफूले सभामुख र अर्थमन्त्रीको टाउको फुटाउन माइक उचालेको सगौरव बताउनुभयो । उहाँले त संसदमा अर्थमन्त्री र सभामुखलाई आक्रमण गर्ने योजना नै रहेको स्वीकार गर्नुभएको छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा आफ्ना सदस्यहरुको हर्कतलाई सभ्य र मर्यादित बनाउन निर्देशन दिएपछि सांसदको विरोध औपचारिक शैलीमा फेरिएको छ । तर संसदमा आक्रमणमा उत्रिने सांसदले न त माफी माग्नुभएको छ,न उहाँ सम्बद्ध दलले घटनामा खेद ब्यक्त गरेको छ । एमालेले खुलम्खुल्ला राज्यको नियम र कानूनको खिल्ली उडाउने सांसदसँग सामान्य स्पष्टीकरण समेत सोधेको छैन । खाली माननीयको कदम ठिक होइन भनेर सुख पाइन्छ ? कि एमाले गुरिल्ला पार्टीमा रुपान्तरण भइसकेको या रिहर्सल गरिरहेको हो ?

अन्य देशका संसद देखाएर सांसद र दलका नेता नेपालको संसदमा भएका क्रियाकलापलाई सामान्यीकरण गरिरहेका छन् । जापानको संसदमा सांसद रगतपिच्छे हुन्छन् हामी कहाँ त ब्रिफकेस त फुट्या हो, टेबल त भाँचिया हो भन्ने सांसद र नेतालाई किन नसोध्ने –अनि हाम्रो देश जापानजस्ता बनाउन चाहीँ कसले रोक्यो त ?

नेपालको कानूनअनुसार कुनै पनि व्यक्तिलाई सार्वजनिकरुपमा भौतिक आक्रमणको चेतावनी दिने व्यक्तिलाई फौजदारी अभियोगमा कारवाही गर्ने व्यवस्था छ । कसैले आवेशमा आएर या जिस्किएर कसैको हत्या गर्ने आशय व्यक्त गर्यो र त्यस व्यक्तिको भवितव्यले निधन भयो भने समेत उक्त व्यक्तिमाथि फौजदारी अभियोगमा कारवाही चलाउँछ प्रहरीले ।

तर सांसद झाको अभिव्यक्तिप्रति न सम्बन्धित दलको ध्यानाकर्षण भएको छ न त प्रहरी प्रसासनको ? प्रहरीमाथि आम नागरिकको प्रश्न छ, यदि आम नागरिकले यो प्रकृतिको अभिव्यक्ति दिएको भए प्रहरीले उक्त व्यक्तिलाई सम्मानले स्यालुट ठोक्थ्यो ?

सांसदले संसदमा यस्ता हर्कत र अभिव्यक्ति दिएको यही पहिलो घटना भने होइन । केही समयअघि बागमती प्रदेश सभामा एक जना सांसदले नाथुराम गोड्से बन्न चाहेको सगौरव बताउनुभयो ।

नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसद नरोत्तम वैद्यले तात्कालिन प्रधानमन्त्री केपी ओलीलाई हत्यासम्म गर्न सक्ने नाथुराम गोडसेको आवश्यकता रहेको नभए आफै नाथुराम गोड्से बन्ने विवादास्पद अभिव्यक्ति दिँदा पनि उहाँमाथि खासै कारवाही भएन । सामाजिक संजाल र संचारमाध्यममा चर्को आलोचना भएपछि कांग्रेसले सामान्य विज्ञप्ती दिएर लोकलाज टाल्ने काम गर्यो ।

अब प्रश्न उठ्छ, हाम्रा सांसदको संसदमा पुगेपछि मर्यादा हराउँछ हो ? सांसदले पालना गर्नुपर्ने नियम र आचारसंहितालाई १० बुँदामा समावेश गरिएको छ, यसलाई स्वयम् सांसदहरुले नै पारित गर्नुभएको हो ।

आफैंले बनाएको नियम पालना नगर्ने साँसद र भौतिक आक्रमणको चेतावनी दिने माननीयलाई कारवाही गर्न नसक्ने प्रशासन दुबैलाई नाकाम किन नभन्ने ? राजनीतिक दलले त्यस्ता हिंस्रक अभिव्यक्ति दिने सांसदलाई सामान्य कारवाही समेत नगरेपछि ती राजनीतिक दल नै हिंसाका पक्षपाती सावित भएनन् र ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्