कक्षा १२ को परीक्षा आजदेखि शुरु
३० भदौ २०७८ काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा आजदेखि शुरु गर्दैछ ।
कोरोना भाइरसका कारण यसअघि स्थगित गरिएको परीक्षा सञ्चालन गर्न लागिएको हो ।
परीक्षा असोज ८ गतेसम्म चल्ने छ । बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले अधिकांश विद्यार्थीले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका र सङ्क्रमण पनि विस्तारै नियन्त्रण हुने अनुमान गरी परीक्षा सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।
परीक्षाका लागि आवश्यक सबै तयारी पूरा गरिएको बोर्डले जनाइएको छ । यसअघि साउन ३१ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरिएकोमा बोर्डले अन्तिम समयमा आएर स्थगित गरेको थियो ।
यस पटक तीन लाख ७४ हजार विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी हुने जनाइएको छ । परीक्षामा विद्यार्थीलाई आफूले अध्ययन गरेकै विद्यालयमा परीक्षा दिने व्यवस्था मिलाइएको छ ।
विद्यार्थीलाई अरू विद्यालयमा परीक्षा दिन जानका लागि असुविधा हुन सक्ने भएकाले होम सेन्टरको सुविधा दिइएको हो । परीक्षामा यस पटक चार हजार ३१५ वटा परीक्षा केन्द्र तय गरिएको छ ।
यसैबीच बोर्डले विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी कक्षा १२ का विद्यार्थीको नतिजा प्रकाशन गरिने जनाएको छ ।
आगामी मङ्सिर अन्तिम या पुससम्ममा नतिजा प्रकाशन गरिने जानकारी परीक्षा नियन्त्रक शर्माले दिनुभयो । यसपछि कक्षा १२ का विद्यार्थीलाई स्नातक अध्ययनका लागि बाटो खुल्ने छ ।
प्रतिक्रिया