राजनीति

कांग्रेसमा किचलो : देउवाले समयमा नै निष्पक्ष महाधिवेशन गर्नेमा आशंका (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ २९ गते २०:२८
कांग्रेसमा किचलो : देउवाले समयमा नै निष्पक्ष महाधिवेशन गर्नेमा आशंका (भिडियो रिपोर्टसहित)

२९ भदौ २०७८ काठमाडौं । विवादै विवादका बीच पार्टीको १४ औं महाधिवेशनमा होमिएको नेपाली कांग्रेसमा थप विवाद चर्किएको छ ।

सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा भएको वडा अधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले प्रश्न उठाएपछि विवाद थप चर्कँने देखिएको छ । तर संस्थापन पक्षले भने पौडेल पक्षको आरोप निराधार भएको बताएको छ ।

नेपाली कांग्रेसका नेताहरु विधि, विधान र पद्धतिको कुरा गरेर कहिल्यै थाक्दैनन् । लोकतन्त्रको एक मात्रै पहरेदार ठान्ने पार्टी नेपाली कांग्रेस विधि विधान र पद्धति जोगाउन भन्दै प्रतिकुल अवस्थाका बावजुत महाधिवेशनमा होमिएको छ ।

विभिन्न जिल्लामा वडा तहका अधिवेशन सम्पन्न भैसके पनि अझै २० जिल्लामा क्रियाशील सदस्यता विवाद कायमै छ । यस्ले तोकिएको समय मंसिरमा केन्द्रीय महाधिवेशन सम्पन्न हुनेमा आशंका जन्मिएको छ । झन संस्थापन पक्ष र इतरपक्षका बीचमा रहेको अविश्वासको खाडलले यो आशंकामा थप बल पुगेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा नै संस्थापन पक्षले सत्ता र शक्तिको दुरुपयोग गरी वडा अधिवेशनमा धाँधली गरेको आरोप लागेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले त आरोप मात्रै लगाएको छैन, डडेल्धुराको अधिवेशन रद्द गर्दै पुन अधिवेशन गर्न माग गरेको छ ।

पौडेल पक्षले आरोप लगाएजस्तै विश्लेषकहरु पनि सभापति देउवाले समयमा नै निष्पक्ष महाधिवेशन गर्नेमा शंका व्यक्त गर्छन् ।

संस्थापन पक्ष भने पौडेल समूहको आरोप निराधार रहेको दाबी गरेको छ । सभापति देउवाले सम्पूर्ण पक्षसँग छलफल गरी महाधिवेशन सफल पार्न लागि परेको अवस्थामा डडेल्धुरालाई देखाएर गलत सन्देश दिन खोजेको आरोप लगाउनुहुन्छ देउवा निकट नेता डाक्टर प्रकाश शरण महत ।

पार्टीका बरिष्ठ नेताबाटै निराधार आरोप आउनु सुहाउने विषय नभएको संस्थापन पक्षको भनाइ छ । पार्टी भित्रैकै विवादकै कारण क्रियाशील विवाद अझै टुँगिएको छैन् । महाधिवेशनको कार्यतालिका पनि पटक पटक फेरबहदल भैसकेको छ ।

स्थानीय तहको अधिवेशनको कार्यतालिका परिवर्तन भए पनि प्रादेशिक र केन्द्रीय महाधिवेशनको कार्यतालिका परिवर्तन नभएकाले निर्धारित समयमै महाधिवेशन हुने संस्थापन पक्षको दाबी छ । संस्थापन पक्षले समयमै महाधिवेशन गर्ने बताइरहँदा इतरपक्ष भने अझै पनि सभापति देउवाप्रति सशंकित नै देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्