राजनीति

एमसीसी सम्झौता कुनै पनि हालतमा लागू हुन नदिने विप्लवको चेतावनी

हिमालय टिभी
२०७८ भदौ २८ गते १८:२२
एमसीसी सम्झौता कुनै पनि हालतमा लागू हुन नदिने विप्लवको चेतावनी

२८ भदौ २०७८ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले एमसीसी सम्झौंता कुनै पनि हालतमा लागू हुन नदिने चेतावनी दिनु भएको छ ।

महासचिव चन्दले नेपालको राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमिकता र नेपाली जनताको अधिकारको विरुद्धमा एमसीसी रहेको उल्लेख गर्दै त्यसलाई स्वीकार गर्ने पक्षमा कुनै पनि नेपाली नरहेको दावी समेत गर्नु भयो ।

उहाँले अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि लागू गर्ने सो सम्झौंताको विरुद्धमा उभिन देशभक्त, क्रान्तिकारी शक्तिहरुलाई आह्वान समेत गर्नुभयो । एमसीसीको विरुद्धमा आज काठमाडौंको खुलामञ्चमा पार्टीले आयोजना गरेको विरोध सभामा बोल्दै उहाँले नेपाली भूमिमा अमेरिकाले सुरक्षा गर्ने प्रावधानसहित आएको सम्झौंता पारित गर्न कसले सक्छ ? भनि प्रश्न पनि गर्नु भयो ।

महासचिव चन्दले भन्नुभयो, ‘हामी लड्छौं । कुनै पनि हालतले एमसीसीलाई लागू हुन दिँदैनौं । यो कुनै लकाईछिपाईको कुरा छैन । आज पनि हामी भन्छौं–एमसीसी नेपालको राष्ट्रियताको विरुद्धमा छ । नेपालको सार्वभौमिकताको विरुद्धमा छ । नेपालको स्वतन्त्रताको विरुद्धमा छ । नेपाली जनताको अधिकारको विरुद्धमा छ । कुनै पनि देशले हाम्रो देशमाथि जब्बरजस्ती सन्धि लाद्न पाउँदैन । एमसीसी आज एउटा बहस छ । यहाँ पढी पनि सक्नु भयो । यहाँ थुप्रै बुँदाहरु छन् । हामीले हे¥यौं । के लेखिएको छ भने–एमसीसी सम्झौंता र नेपालको कानून बाझेको स्थितिमा एमसीसी सम्झौंता माथि हुनेछ ।

उहाँले अगाडि भन्नुभयो–‘लप्सीफेदीदेखि सुनौलीसम्मको टावरहरुको जमिनमा अमेरिकाको अधिकार हुनेछ । त्यहाँको सेक्यूरिटी अमेरिकाले गर्नुपर्नेछ । यो कुरा उल्लेख छ, त्यहाँ । यो सम्झौंता कसको हितमा गरिदैछ ? अमेरिकाको राष्ट्रिय सुरक्षाका लागि यो सम्झौंता लागू गरिनेछ ।’

महासचिव चन्दले एमसीसी सम्झौंताविरुद्ध आफूहरुले झिल्को बालेको उल्लेख गर्दै त्यसलाई राँको बनाउनुपर्ने अवस्था आउन नदिन पनि सचेत गराउनु भयो । उहाँले आफूहरुले बास्तविक अर्थमा नेपाली जनताको शासन सत्ता ल्याउन चाहेको दावी गर्नु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्