Main News

एमालेसँग सम्वाद गरेर सर्वदलीय बैठक बोलाउन सभामुखलाई दलहरुको सुझाव (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ २८ गते १८:१५
एमालेसँग सम्वाद गरेर सर्वदलीय बैठक बोलाउन सभामुखलाई दलहरुको सुझाव (भिडियो रिपोर्टसहित)

२८ भदौ २०७८ काठमाडौं । सर्वदलीय बैठकमा संसदमा उपस्थित दलका शीर्ष नेताहरुले नेकपा एमालेलाई संवादमा ल्याएर सर्वदलीय बैठक बोलाउन सुझाव दिएका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले बोलाउनुभएको सर्वदलीय बैठकमा शीर्ष नेताहरुले संसदमा प्रमुख प्रतिपक्षको भूमिका मुख्य हुने भएको भन्दै नेकपा एमालेलाई संवादमा ल्याएर सर्वदलीय बैठक बोलाउन सुझाव दिएका हुन् ।

बैठकपछि पत्रकारसँगको संक्षिप्त कुराकानीमा लोकताीन्त्रक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले संसद सहजरुपमा सुचारु गर्नका लागि नेकपा एमालेलाई संवादमा ल्याएर सर्वदलीय बैठक बोलाउने निष्कर्ष निकालेको बताउनुभयो । अध्यक्ष ठाकुरले आजको सर्वदलीय बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमाले उपस्थित नभएपछि निस्कर्षविहीन भएको बताउनुभयो ।

अध्यक्ष ठाकुरले भन्नुभयो, ‘सभामुखजीले प्रयास गर्दै रहनुपर्छ, आजको बैठक निस्कर्षविहीन भएको छ, सभामुखजीले म प्रयास गर्दै थिएँ, फेरि पनि म प्रयास गरिरहन्छु भन्नुभएको छ ।’

राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले प्रतिपक्ष दल नेकपा एमालेका शीर्ष नेताहरु नआएकाले बैठक निस्कर्षविहीन भएको बताउनुभयो । उहाँले सबै समस्याको समाधान संवादबाटै हुने भएकाले एमाले संवादमा आउनुपर्ने र सदनलाई अनिर्णयको बन्दी बनाएर राख्न नमिल्ने बताउनुभयो ।

उपाध्यक्ष पौडेलले भन्नुभयो, ‘प्रतिपक्षका लिडरहरु नै नआइदिनुभएको हुनाले वास्तविक निष्कर्षमा पुग्न सकिँदैन भन्ने कुरा एउटा निस्कर्ष त्यो थियो, प्रतिपक्षलाई फेरि पनि संवादबाट नै हरेक अफ्ठ्याराहरुलाई निर्णयमा पुराउन सकिन्छ, त्यसका लागि प्रतिपक्षलाई बोलाएर फेरि सर्वदलीय बैठक बोलाउनका निम्ति अनुरोध गरियो ।’

उहाँले बैठकमा सभामुख सापकोटालाई प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग संवाद गरेर फेरि सर्वदलीय बैठक बोलाउन आग्रह गरिएको बताउनुभयो ।

माधव नेपालसहितका १४ जना सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ती सांसदलाई कारबाही नगरेसम्म संसद चल्न नदिने भन्दै संसद अवरुद्ध गर्दै आएको छ ।

भदौ २३, २५ र २७ गतेको संसदमा विरोध गर्दै नारा जुलुस गरेपछि सभामुख सापकोटाले भदौ २८ गते सर्वदलीय बैठक बोलाउनु भएको थियो । तर, बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अनुपस्थित भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *