Main News

प्रतिनिधि सभाको गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक बस्दै

हिमालय टिभी
२०७८ भदौ २८ गते ८:५६
प्रतिनिधि सभाको गतिरोध अन्त्यका लागि सर्वदलीय बैठक बस्दै

२८ भदौ २०७८ काठमाडौं । प्रतिनिधिसभाको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार अवरोध गर्दै आएपछि सभामुख अग्नि सापकोटाले संसद खुलाउन संवाद शुरु गर्नुभएको छ ।

सभामुख सापकोटाले हिजो पनि सरकार र एमालेका प्रमुख सचेतक विशाल भट्टराईलगायत नेतासँग छलफल गर्नुभएको थियो भने आज दिउँसोका लागि सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।

दिउँसो साढे २ बजे सङ्घीय संसद भवनको नयाँ बानेश्वरस्थित लोत्से हलमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका संसदीय दलका नेताहरुसँग सभामुखले छलफल गर्न लाग्नुभएको उहाँको सचिवालयले जनाएको छ । सर्वदलीय बैठकमा संसदमा जारी गतिरोध अन्त्य गर्ने बारेमा छलफल हुनेछ ।

छलफलमा सहभागिताका लागि प्रधानमन्त्री एवं कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, विपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओली, माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता माधवकुमार नेपाल, जसपा संसदीय दलका नेता उपेन्द्र यादव, लोसपाका नेता महन्थ ठाकुर, जनमोर्चाका दुर्गा पौडेल, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राप्रपाका राजेन्द्र लिंदेनलाई आमन्त्रण गरिएको सभामुख सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

हिजोको संसद बैठकमा एमालेका सांसदले नाराबाजी गरेपछि बैठक स्थगित गरेर सभामुख सापकोटाले एमाले प्रमुख सचेतक, सचेतक, कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलगायतसँग छलफल गर्नुभएको थियो ।

छलफलमा शीर्ष तहमा संवाद गरी निकास निकाल्नुपर्नेमा एमालेका सांसदले जोड दिएपछि आज सर्वदलीय बैठक बोलाइएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *