Main News

प्रदेश १ मा हत्याका घटनामा परिवारकै सदस्यताको संलग्नता किन धेरै ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ २७ गते २०:५६
प्रदेश १ मा हत्याका घटनामा परिवारकै सदस्यताको संलग्नता किन धेरै ? (भिडियो रिपोर्टसहित)

२७ भदौ २०७८ काठमाडौं । पछिल्ला दिनमा प्रदेश १ मा आफन्त र परिवारबाटै हुने हत्याका घटनाको श्रृङ्खला बढेको छ। परिवार र आफन्तको सञ्जालभित्रै हत्याका शृंखला यसरी भइरहेका छन् कि, हरेक हप्ता कम्तीमा १ जनाको हत्या आफ्नै परिवारका सदस्यबाट भएको प्रहरी तथ्यांक छ ।

प्रदेश १ मा एक वर्षको अवधिमा आफन्त र परिवारका सदस्यबाट ५५ वटा हत्याको घटनामा ५६ जनाले ज्यान गुमाउनु परेको छ ।

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या घटना व्यक्तिगत कुण्ठाका कारण भएको प्रहरीले जनाएको छ । आरोपित २६ वर्षीय लोकबहादुर कार्कीलाई सार्वजनिक गर्दै प्रहरीले चरम घृणाका कारण तेजबहादुर कार्की र उनको परिवारको हत्या भएको पाइएको जनाएको छ । लोकबहादुरले आफूमाथि भएको अपमानको बदला लिन यो हदसम्मको अपराधमा उत्रिएको स्वीकार गरेका छन् ।

९१ वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती, छोरा ५२ वर्षीय तेजबहादुर, बुहारी ५२ वर्षीया कमला, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी ७ वर्षीया गोमा कार्कीको गत सोमबार हत्या भएको थियो । हत्यामा एउटै हतियार प्रयोग गरेको पाइएको प्रहरीले जनाएको छ ।

पछिल्लो समय जघन्य अपराधका अधिकांश घटनामा परिवारकै सदस्यको संलग्नता हुने गरेको प्रहरी अधिकारीहरू बताउँछन् । २०७६ साल जेठ ६ गते राति पाँचथर मिक्लाजुङ–३ को आरुबोटे गाउँमा दुई परिवारका नौ जनाको हत्या भएको थियो ।

दुई वटा परिवारका सबैजसो सदस्यको ज्यान लिने गरी भएको त्यो घटना पनि परिवारकै सदस्यले गराएका थिए । यी घटनाहरुले परिवारभित्रै असुरक्षा बढेको देखाएका छन् ।

घरेलु विवादकै कारण आफन्तबाटै मारिनु पर्ने डरलाग्दो पारिवारिक अपराधको दर प्रदेशमा ह्वात्तै बढेको छ । सामान्य असमझदारी सुरु हुने रिसिइबी भौतिक आक्रमणको तहमा पुग्दा अपराधको संख्या लगातार बढिरहेका छन् । बेरोजगारीपछि उत्पन्न पारिवारिक किचलो, मदिरा तथा लागूऔषधको बढ्दो सेवन जस्ता कुरा अपराधको कारक बन्ने गरेका छन् ।

पेसेवर प्रकृतिका अपराधजत्तिकै डरलाग्दो गरी घरभित्रै अपराध जन्मिइरहेको तथ्यांकले देखाउँछ । समाजमा हुने जम्मा हत्याका घटनामध्ये झण्डै ३० प्रतिशत पारिवारभित्रै भएका छन् । पारिवारिक, सामाजिक र आर्थिक संरचनामा सुधार नल्याएसम्म कानून मात्रले अपराधका घटना न्यूनीकरण नहुने यस्ता घटनाहरुले देखाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *