न्यूनतम् साझा समझदारी बनाउन सभामुखको आग्रह, प्रतिनिधिसभा बैठक २९ गतेसम्म स्थगित
२७ भदौ २०७८ काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को लगातारको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक स्थगित भएको छ ।
सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै एमाले सांसदले लगातार दोश्रो बैठकमा पनि अवरोध गरेपछि प्रतिनिधिसभा बैठक भदौ २९ गते मंगलबार १ बजेसम्मका लागि स्थगित गरिएको हो ।
सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो पार्टी फुटाउन भूमिका खेलेको एमालेको आरोप छ ।
सभामुख सापकोटाले आफू नेपालको संविधान, ऐन, कानून र प्रतिनिधि सभा नियमावली अनुसार नै चलेको भन्दै बैठक सञ्चालनका लागि पटक पटक गरेको आग्रह प्रतिपक्षी सांसदले अस्वीकार गर्नुभयो ।
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठक अवरोध नगर्न र न्यूतनम् साझा समझदारी बनाउन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुलाई आग्रह गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको दोस्रो बैठक सुरु हुनेबित्तिकै एमालेका सांसदले नाराबाजी गर्दै बैठक अवरोध गर्नुभएको थियो । एमालेका सांसदहरुको लगातारको अवरोधपछि सभामुख सापकोटाले बैठक सहजरुपमा सञ्चालन गर्नका लागि पटकपटक आग्रह गर्नुभएको थियो ।
उहाँले वादविवाद छाडेर संवादका लागि वातावरण बनाउन सबैलाई आग्रह गर्नुभएको थियो । बैठकअघि सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र सांसद खगराज अधिकारीसँग बैठक सहजरुपमा सञ्चालनका लागि छलफल गर्नुभएको थियो । छलफलमा सरकारका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी हुनुहुन्थ्यो ।
प्रतिक्रिया