Main News

सत्ता गठबन्धनको बैठक बस्दै

हिमालय टिभी
२०७८ भदौ २७ गते ८:४९
सत्ता गठबन्धनको बैठक बस्दै

२७ भदौ २०७८ काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक बस्दै छ । बैठक बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

बैठकमा संसदमा सत्तापक्षको रणनीति र मन्त्रिपरिषद विस्तार लगायत विषयमा छलफल गर्न बैठक बोलाइएको प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै एमालेले निरन्तर संसद अवरोध गर्दै आएको छ । एमालेको अवरोधका बाबजुद संसदलाई कसरी अगाडि बनाउने भन्ने विषयमा बैठकले साझा धारणा बनाउने बताइएको छ । यसअघिको बैठकमा राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिने कि प्रतिस्थापन विधेयक ल्याउने भन्नेमा छलफल भएको थियो ।

नेकपा एकीकृत समाजवादीले प्रतिस्थापन विधेयक ल्याउनुपर्नेमा जोड दिएको छ भने जसपाले फिर्ता लिनुपर्ने अडान राखेको छ । एकीकृत समाजवादी र जसपाले अध्यादेश किनारा नलागी मन्त्रिपरिषद विस्तार गर्न नहुनेमा जोड दिएपछि प्रधानमन्त्री देउवा समस्यामा पर्नु भएको छ ।

सरकार बनेको दुई महिना पुग्नै लाग्दा पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । प्रधानमन्त्री देउवाले चार मन्त्री र एक राज्यमन्त्रीका भारमा सरकार सञ्चालन गरिरहनु भएको छ ।

गत शुक्रबार बसेको गठबन्धन बैठकमा देउवाले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवलाई दुई दुई मन्त्रीको भए पनि नाम दिन आग्रह गर्नु भएको थियो ।

तर दुबै दल अध्यादेश किनारा नलागी सरकारमा सहभागी नहुने अडानमा रहेको बुझिएको छ । दरलहरुबीच मन्त्रालयगत भागबण्डामा पनि सहमति हुन सकेको छैन । भौतिक पूर्वाधार, परराष्ट्र, सहरी विकास, संघीय मामिला, स्वास्थ्य मन्त्रालयमा दुबै दलले दावी गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *