Main News

यस्ता छन् एमसीसीकी उपाध्यक्ष सुमारको नेपाल भ्रमणका ५ सन्देश (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ २६ गते २१:०७
यस्ता छन् एमसीसीकी उपाध्यक्ष सुमारको नेपाल भ्रमणका ५ सन्देश (भिडियो रिपोर्टसहित)

२६ भदौ २०७८ काठमाडौं । नेपालको चार दिने औपचारिक भ्रमणमा आएकी अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी उपाध्यक्ष फातिमा सुमारले प्रमुख राजनीतिक दलका शीर्ष नेतादेखि संसदीय समितिका प्रतिनिधिहरुसँगको भेटघाट सक्नुभएको छ ।

एमसीसी परियोजना अनुगमनको सिलसिलामा पटक–पटक नेपाल आएकी सुमारको अहिलेको भ्रमण भने राजनीतिक दलका नेताहरुसँगको भेटमा मात्र केन्द्रित रह्यो । र यो भ्रमणमा उहाँले नेपाललाई ५ वटा सन्देश दिनुभएको छ ।

संसदीय अनुमोदन छिटो होस्
एमसीसीको विषयमा उठेको एउटा विवाद हो संसदीय अनुमोदन । एमसीसीको विरोध गर्ने समूहले नेपालले लिएका कुनै पनि सहयोग यसअघि संसदबाट अनुमोदन भएका छैनन् । एमसीसी किन गर्नु भनेर शंक गर्छन् । तर नेताहरुसँगको भेटघाटका क्रममा एमसीसी उपाध्यक्ष फतिमाले गरेको आग्रह हो– एमसीसीलाई छिटो अनुमोदन गर्नुपर्‍यो ।

संसदबाट अनुमोदन नभए पनि एमसीसीले पूर्व तयारीका काम गरिरहेको थियो । तर अब अगाडि बढाउन संसदीय अनुमोदन अनिवार्य भएको उहाँको सन्देश छ । पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले २०७६ सालमा नै एमसीसी अनुमोदनका लागि संसदमा प्रस्ताव दर्ता गरिसकेको छ ।

एमसीसीमा कुनै सैन्य तत्व छैन
एमसीसीका सम्बन्धमा नेपालमा सबैभन्दा बढी बहस भएको विषय हो, यो इन्डो प्यासिफिक स्ट्राटेजी अन्तर्गत सामरिक रणनीति अन्तर्गत रहेकोले यसलाई स्वीकार गरिएमा भविष्यमा नेपाललाई अप्ठेरो पर्नसक्छ ।

एमसीसी सम्झौताको थुप्रै प्रावधानमाथि बहस भइरहे पनि फतिमाको विशेष जोड चाहिँ यसमा कुनै पनि सैन्य तत्व छैन भनी नेताहरुलाई आश्वस्त पार्नु नै थियो । हरेक नेताहरुसँगको भेटमा उहाँले सैन्य तत्व छैन भन्नुभएको छ । तर, राजनीतिक दलका नेताहरु यसप्रति अझै पनि विश्वस्त हुन सकेका छैनन् ।

दबाब दिन आएको होइन
एमसीसी सम्झौता संसदबाट अनुमोदनका लागि दबाब दिन फातिमा नेपाल आएको चर्चा भइरहेको समयमा उनले नेताहरुसँगको भेटमा दिएको सन्देश हो, अमेरिका एमसीसी अनुमोदनका लागि दवाव दिन आएको होइन ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको कुराकानीमा उहाँले प्रष्टसँग आफू नेपाली राजनीतिक नेतृत्वलाई दबाब दिनका लागि नआएको बताउनुभएको थियो

एमसीसी अन्तर्गतको परियोजना नेपालकै छनोट
राजनीतिक दलका नेताहरुसँगको भेटमा उनले एमसीसी नेपालका नेताहरुले नै डिजाइन गरेको र त्यस अनुसार एमसीसीले आर्थिक सहयोग गरेको उल्लेख गर्नुभयो । उहाँको भनाइ थियो– सन् २०१७ मा सहमति हुनुभन्दा पहिला नेपाल सरकारले ५ वर्षे परियोजनाको डिजाइन गरेको हो ।

एमसीसीका सम्बन्धमा भएका अनावश्यक हल्लाका सम्बन्धमा पनि उहाँको विशेष चासो थियो । उहाँले नेपालमा नहुनुपर्ने धेरै हल्ला भएको उल्लेख गर्नु भएको छ । एमसीसीका सम्बन्धमा हुने स्वस्थ बहसको पक्षमा आफू रहेपनि गलत र भ्रामक सन्देशहरु गएको सम्बन्धमा पनि फतिमाले चासो व्यक्त गर्नु भएको छ ।

नेपालले नलिए अर्कोलाई दिन्छौँ
राजनीतिक दलका नेताहरुसँगको भेटमा फतिमाले दिएको अर्को सन्देश हो, नेपालले सहयोग नलिए पनि कुनै आपत्ति छैन । नेपालले नलिए यो रकम कुनै अर्को देशलाई दिने सन्देश पनि फातिमाले दिनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *