एमाले स्थायी कमिटी बैठक दिउँसो ३ बजेपछि फेरि बस्नेगरी स्थगित
२६ भदौ २०७८ काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको स्थायी कमिटी बैठक दिउँसो साढे ३ बजे पुनः बस्ने गरी स्थगित भएको छ ।
विधान महाधिवेशनमा भाग लिने प्रतिनिधिहरुको छलफल भइनसकेकाले आज दिउँसो तीन बजे पुनः बस्ने गरी बैठक स्थगित भएको हो । स्थायी कमिटीको बैठकले पार्टीको आउँदो विधान अधिवेशनका बारेमा छलफल गरेको नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।
प्रमुख भट्टराईले बैठकमा देशभरबाट करिव ३ हजार प्रतिनिधि हुने प्रस्ताव आएको भन्दै यसको टुंगो लगाउनका लागि आजै ३ बजे बैठक बस्ने बताउनुभयो । आज बस्ने बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने विधानको बारेमा पनि छलफल गर्ने साथै राजनीतिक र सांगठनिक प्रतिवेदनका बारेमा समेत छलफल गर्ने विभाग प्रमुख भट्टराईले बताउनुभयो ।
प्रचार विभाग प्रमुख भट्टराईले भन्नुभयो, ‘नेकपा एमालेको स्थायी कमिटीको बैठक आज बिहान शुरु भएको छ, यो बैठकमा विशेष गरी आउँदो विधान अधिवेशन, जुन पार्टीको विधान अधिवेशन आयोजना हुँदैछ, त्यो विधान अधिवेशनको बारेमा हामीले छलफल गरेका छौँ, त्यसमा मुख्य तीन वटा एजेण्डा छन्, विधान अधिवेशनका प्रतिनिधिहरु को को हुने ? विधान अधिवेशनका प्रस्तुत गर्ने राजनीतिक, सांगठनिक र विधान सम्बन्धी दस्ताबेज तीन वटा दस्ताबेज छन्, एउटा राजनीतिक दस्ताबेज हुन्छ प्रतिवेदन, विधान हुन्छ र संगठनात्मक प्रस्ताव हुन्छ ।’
प्रमुख भट्टराईले नेकपा एमालेले एमसीसी सम्झौतामा भएका कतिपय प्रावधानहरुलाई पुनःव्याख्या गर्नुपर्ने भएकाले नेपालको हितमा बनाउनुपर्ने कुराहरु रहेकाले केही कुराहरुलाई संशोधन गरेर मात्रै एमसीसी अगाडि बढाउने बताउनुभयो ।
प्रतिक्रिया