यथास्थितिमा एमसीसी स्वीकार नगर्न सरकारलाई वाईसीएलको आग्रह (भिडियो रिपोर्टसहित)
२५ भदौ २०७८ काठमाडौं । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)मा आवद्ध युवा संगठन वाईसीएल नेपालले यथास्थितिमा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई स्वीकार नगर्न सरकारलाई सचेत गराएको छ ।
सुमन देवकोटा नेतृत्वको वाईसीएल नेपाल केन्द्रीय समितिले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी नेपालको संविधानसँग बाझिएका बुँदाहरु नसच्चिएसम्म सो सम्झौंता पारित नगर्न सरकार र संघीय संसदलाई सचेत गराएको हो ।
वाईसीएल नेपालका संयोजक देवकोटाले नेपालको स्वाधिनता, सार्वभौमसत्ता र संविधानलाई बन्धक राख्ने कुनै पनि खालका अन्तर्राष्ट्रिय सहयोग, अनुदानहरु स्वीकार गर्न नसकिने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘एमसीसीलगायतका कुनै पनि सहयोग, अनुदानहरु देशको स्वाधिनता, सार्वभौमसत्ता र संविधानलाई बन्धक राखेर स्वीकार गर्न सकिँदैन । नेपालको संविधानसँग बाझिएका एमसीसीका बुँदाहरु नसच्याई पारित नगर्न यो राष्ट्रिय भेला सरकारलाई चुनौति दिन्छ ।’
गत भदौं १२ गतेदेखि १५ गतेसम्म काठमाडौंमा सम्पन्न राष्ट्रिय भेलाले गरेका निर्णयहरु सार्वजनिक गर्दै वाईसीएल नेपालले भारतसँग भएको सबै सीमा समस्या तत्काल समाधान गर्न पनि सरकारसँग माग गरेको छ । त्यसैगरी युवाहरुलाई रोजगारीको अवसर सिर्जना गर्न, उमेर पुगेका युवा तथा विद्यार्थीहरुका लागि कोभिडविरुद्धको खोपको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराइएको संयोजक देवकोटाले बताउनु भयो ।
वाईसीएलले कोभिडसँग सम्बन्धित स्वास्थ्य सामग्री खरिद प्रकरणमा मुछिएकाहरुको छानबिन गरी दोषीमाथि कारबाही गर्न ढिलाई नगर्न पनि सरकारलाई दवाव दिएको छ ।
प्रतिक्रिया