Main News

एमसीसीका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

हिमालय टिभी
२०७८ भदौ २५ गते ७:५४
एमसीसीका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

२५ भदौ २०७८ काठमाडौं । एमसीसीबारे छलफल गर्न सत्तारूढ गठबन्धनको बैठक आज बस्दैछ । एमसीसी पारित गर्ने कि नगर्ने भनेर दोधारमा परेको गठबन्धन आवश्यक निर्णय लिनका लागि छलफलमा जुट्न लागेको हो ।

हिजो पनि गठबन्धनको बैठक बसेको थियो । तर नेताहरुको कार्यव्यस्तताका कारण बैठक निष्कर्षमा पुग्न सकेन । एमसीसो बारे गठबन्धनमा रहेका पाँच दलबीच नै फरक फरक अडान छन् ।

कांग्रेस एमसीसी पारित गरिहाल्नुपर्ने पक्षमा छ भने माओवादी केन्द्रले यथास्थितिमा एमसीसी पारित गर्न नहुनेमा जोड दिँदै आएको छ । एकीकृत समाजवादीले सत्तारुढ दलहरूबीचको सहमतिमा मात्रै एमसीसीबारे निर्णय गर्नुपर्ने बताएको छ । जनमोर्चा एमसीसीको विरुद्धमा छ ।

यसैबीच सत्तारुढ गठबन्धनमा रहेका नेताहरु दुई चरणमा मन्त्रिपरिषद् विस्तार गर्न सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको बैठकमा एक–दुई दिनमै मन्त्रिमण्डल विस्तार गर्ने र केही समयपछि पूर्णता दिने सहमति भएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीविरुद्ध सर्वोच्चमा रिट दायर गरेको र जसपाले निर्णय गरी नसकेकाले दुई चरणमा मन्त्रिमण्डल विस्तार गर्ने सहमति जुटेको हो ।

छलफलमा सहभागि एक नेताका अनुसार पहिलो चरणमा कांग्रेस र माओवादीबाट मन्त्री थपिनेछन् । अहिले पनि कांग्रेस र माओवादी केन्द्रबाट मात्र मन्त्रीको सरकारमा सहभागिता छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *