गृहको विज्ञप्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता
२३ भदौ २०७८ काठमाडौं । गृह मन्त्रालयले गत शुक्रबार जारी गरेको विज्ञप्तिविरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
गृह मन्त्रालयको विज्ञप्तिले नागरिकको विचार र अभिव्यक्तिको स्वतन्त्रता हनन् गरेको भन्दै अधिवक्ता प्रवेश केसीले अदालतमा रिट दायर गर्नुभएको हो ।
रिटमा भदौ २७ गतेलाई पेशी तोकिएको छ। नेपालको संविधानको धारा १७ ले नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रतालाई संवैधानिक संरक्षण प्रदान गरेको भन्दै गृह मन्त्रालयको विज्ञप्तिले त्यसको हनन् गरेको रिट निवेदकको जिकिर छ।
मन्त्रालयले भदौ १८ गते मित्र राष्ट्रको सहयोगमा सञ्चालित विकास आयोजना, त्यहाँ कार्यरत कर्मचारी, विदेशी नागरिक र तिनको सम्पत्तिलाई लक्षित गरी नकारात्मक टिप्पणी गर्नेलाई कडा कारबाही गर्ने भन्दै विज्ञप्ति निकालेको थियो। नेपाल बार एसोसिएसनले पनि हिजो विज्ञप्तिप्रति आपत्ति जनाएको थियो।
संविधानको दायराभित्र रहेर गरिने विचार र अभिव्यक्तिको स्वतन्त्रतालाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रोक लगाउने गरी जारी गरिने कुनै पनि विज्ञप्तिले लोकतान्त्रिक शासन प्रणालीको मूल्य(मान्यतामाथि नकारात्मक असर पुग्ने बारले ठहर गरेको छ।
प्रतिक्रिया