संसद बैठकमा सभामुखविरुद्ध एमालेका सांसदहरुद्वारा नाराबाजी (भिडियो रिपोर्टसहित)

२३ भदौ २०७८ काठमाडौं । नेकपा एमालेले नारावाजी गर्दै रोष्टम घेराउ गरेपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
आफूले कार्वाही गरेका सांसदको सूचना टाँस नगरेको भन्दै सभामुख अग्निप्रसाद सापकोटाको विरोध गर्दै नारावाजी गरेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो ।
बैठकको शुरुमै एमाले संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले १४ जना सांसदलाई कारवाही नगरेको र निर्वाचन आयोगले अनाधिकृत सांसदको सनाखत गरेर दल विभाजन गरेको आरोप लगाउनु भयो ।
एमालेलाई हेप्न खोजेको भन्दै सभामुख र निर्वाचन आयोगले त्यसको जवाफ दिनुपर्ने माग गर्नु भयो ।
सभामुख सापकोटाले आफूले प्रचलित नियम र कानूनका आधारमा निर्णय लिएको जवाफ दिनुभयो ।
सभामुखको जवाफ पछि पनि एमाले सांसदले नारावाजी गर्न नछोडेपछि बैठक चल्न सकेन । एमाले सांसदहरुले संसदीय सर्वोच्चता कायम गर, विधिको शासन कायम गर, विभेध गर्न पाइँदैन भन्दै नाराबाजी गरेका थिए ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरुद्ध पारेपछि राष्ट्रियसभाको बैठक पनि ३० मिनेटका लागि स्थगित गरिएको छ ।
बैठक सुरु हुनासाथ राष्ट्रियसभामा एमालेका सांसदहरुले उठेर बैठक अवरुद्ध पारेका थिए । त्यसपछि सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमालेका सचेतक खिमलाल भट्टराईलाई बोल्न समय दिनु भएको थियो ।
त्यसक्रममा बोल्दै सचेतक भट्टराईले प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले आफ्नो दल फुटाउने, आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदहरुको सूचना समेत टाँस नगरेर राजनीतिक दलका सामान्य कार्यकर्ताको रुपमा प्रस्तुत भएको उल्लेख गर्दै त्यसको विरोधमा राष्ट्रिय सभा चल्न दिन नसकिने चेतावनी दिनु भयो ।
उहाँले लोकतन्त्रको रक्षाका लागि, संविधान र कानुन विरोधी सभामुख सापकोटाको भूमिको रहेको उल्लेख गर्दै त्यसलाई मानेर जाने अवस्थामा आफूहरु नरहेको धारणा समेत राख्नु भयो ।
सचेतक भट्टर्राइले बोलिसक्ने वित्तिकै एमाले संसदहरुले उठेर संसद बैठक सूचारु हुन दिएनन् । यता, राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले भने राष्ट्रिय सभाको गरिमालाई कायमै राखेर अघि बढनुपर्ने भन्दै एमाले सांसदहरुलाई बैठक सूचारु गराउन सहयोग गरिदिन पटकपटक आग्रह गर्नु भयो । तर एमाले सांसदहरुले नमानेपछि उहाँले सो बैठक ३० मिनेटसम्मका लागि स्थगित गरिएको घोषणा गर्नु भयो ।
प्रतिक्रिया