Main News

कोरोना कहर छैन तीजको लहर (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ २२ गते २०:४६
कोरोना कहर छैन तीजको लहर (भिडियो रिपोर्टसहित)

२२ भदौ २०७८ काठमाडौं । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले तीज पर्वको रौनकमा यो वर्ष पनि कमी आएको छ । गत वर्षझैं तीजअघिका कार्यक्रमहरु यो वर्ष पनि सीमित मात्रामा भएका छन् । तीजले छपक्कै छोपिसक्दा पर्व लक्षित व्यापार पनि सुस्त छ ।

अवस्था सामान्य हुँदो हो त यतिबेला घरघरमा मात्र नभई पार्टी प्यालेस, होटेल, रेस्टुरेन्टहरुमा तीजका कार्यक्रमले भ्याईनभ्याई हुन्थे ।

उपहारका रुपमा प्रदान गरिने सौभाग्यका सामानहरु टीका, चुरा, पोतेलगायत गरगहनाको व्यापार उच्च हुन्थ्यो । तर कोरोना संक्रमणदरमा कमी आए पनि जोखिम कायमै रहेको भन्दै सरकारले भीड हुने गरी जात्रा, भोज नगर्न तथा न्यूनतम सहभागितामा चाडपर्व मनाउन आदेश जारी गरेका कारण ठूलो संख्यामा भेला भई गरिने कार्यक्रममा कमी आएको छ ।

कोरोना अघिका वर्षमा तीज शुरु हुनुभन्दा महिना अघिबाटै आफ्ना चेली मात्र नभई आफन्त, साथीभाइ भेला भएर नाचगान गर्ने र उपहार साटासाथ गरिन्थ्यो ।

पछिल्लो समय त तीजका कार्यक्रममा पुरुषको सहभागितासमेत बढ्दै गएको थियो । तर यो क्रमलाई कोरोनाले ब्रेक लगाएको छ । कतिपय महिलाले पहिले स्वास्थ्य अनि मात्रै चाडपर्व भन्ने कुरालाई जोड दिएका छन ।

कोरोना संक्रमणले गर्दा अहिले सार्वजनिक स्थान, मठमन्दिर तथा घरहरुमा तीजका गीत, मादलका आवाज निकै कम देखिएका छन्। यद्यपी ब्रतालुलाई लक्षित गरी तीजको दिन पशुपतिनाथ लगायत मठमन्दिर खोल्ने तयारी पनि गरिएको छ ।

तीज पर्वलाई दुखसुख साटासाट गर्ने अवसरका रुपमा लिइने भए पनि कोरोनाले गर्दा दिदीबहिनीसँग सामान्य भेटघाट हुन समेत कठिन रहेको महिलाहरुको गुनासो छ ।

कोरोना महामारीले निम्तिएको फरक परिस्थितिमा स्वास्थ्य जोखिम नहोस् भन्नका लागि चाडपर्व मनाउने शैली परिवर्तन गराउनुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *