Main News

वीपी प्रतिष्ठान धरानका स्वास्थ्यकर्मी र विद्यार्थी आन्दोलित, सेवाग्राही मारमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ २१ गते १७:२८
वीपी प्रतिष्ठान धरानका स्वास्थ्यकर्मी र विद्यार्थी आन्दोलित, सेवाग्राही मारमा (भिडियो रिपोर्टसहित)

२१ भदौ २०७८ सुनसरी । विगतको सहमति कार्यान्वयन गर्न माग राख्दै सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मी र विद्यार्थी आन्दोलनमा छन् । आकस्मिक र कोभिड बाहेकका सेवा बन्द गरी स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएपछि बिरामी मर्कामा परेका छन् ।

वीपी शुद्धीकरण अभियान संयुक्त संघर्ष समितिका प्रतिनिधिसँग भएको ६ बुँदे सहमति कार्यान्वयनमा सरकार उदासिन भएपछि स्वास्थ्यकर्मी र विद्यार्थीले दबाव दिन भन्दै सेवा नै ठप्प पारेपछि सेवाग्राही मर्कामा परेका छन् ।

प्रतिष्ठानका पदाधिकारीले करोडौं रकम भ्रष्टाचार गरेको भन्दै उनीहरूलाई पदबाट हटाउनुपर्ने र प्रतिष्ठान सुधार गर्नुपर्ने माग राखेर चिकित्सक र कर्मचारीहरू आन्दोलनमा छन् ।

प्रतिष्ठानमा शुद्धीकरण अभियानको रुपमा असार १ गतेदेखि नै आन्दोलन चलिरहेको छ । महिनौंदेखि आन्दोलन गरे पनि आफ्नो माग पूरा नभएको समितिले आकस्मिक, कोभिड र पूर्वनिर्धारित परीक्षाबाहेकका सबै सेवा आइतबारदेखि बहिष्कार गरेका छन् ।

प्रतिष्ठानमा अनियमितता भए नभएको बारेमा छानबिन गर्न सरकारले समिति नै गठन गर्यो, त्यसपश्चात अख्तियार अनुसन्धान आयोगको टोलीले समेत प्रतिष्ठानमा छापा मारेको थियो । तर अख्तियारले समेत प्रतिष्ठानमा भैरहेको अनियमिततालाई नजरअन्दाज गरेको आरोप आन्दोलनरत पक्षको छ ।

प्रतिष्ठान शुद्धीकरणको आन्दोलन ५० दिन पुग्दा साउन १९ गते सरकारसँग ६ बुँदे सहमति भएको थियो। सरकारले गठन गरेको नवीन कार्यदलले प्रतिष्ठानमा खरीदका काम कारबाही मनोमानी रुपमा अघि बढेको भन्दै उनीहरुलाई कारबाहीको दायरामा ल्याउन सिफारिस समेत गर्यो । तर सरकारले भने कार्वाहीको लागि कुनै पनि कदम चालेको छैन । जस्ले गर्दा प्रतिष्ठानको आर्थिक अनियमिततामा राजनीतिक संरक्षण भैरहेको आशंका छ ।

२ अर्ब रुपैयाँ वार्षिक बजेट रहेको प्रतिष्ठानको बेरुजु १ अर्ब १० करोड रुपैयाँ पुगिसकेको छ भने सञ्चित घाटा बजेट ७ अर्ब नाघिसकेको छ। दैनिक तीन हजार पाँच सय हाराहारी बिरामी आउने प्रतिष्ठान, धरायसी बन्नुमा पदाधिकारी, व्यापारी र दलका नेता जिम्मेबार रहेको आन्दोलनरत पक्षको आरोप छ । शिक्षा र स्वास्थ्य क्षेत्रमा हुने भ्रष्टाचार र दलीयकरणको अन्त्यका लागि यो आन्दोलन देशैभरी चलाउने लक्ष्य संघर्ष समितिको चेतावनी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *