संखुवासभामा कसरी भयो एकै परिवारका ६ जनाको हत्या ? ८९ वर्षीय वृद्धबाहेक सबैको हत्या (भिडियो रिपोर्टसहित)
२१ भदौ २०७८ काठमाडौं । संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको छ ।
संखुवासभाको मादी नगरपालिका १ उम्लिङमा तेजबहादुर कार्की, उहाँकी आमा ८० वर्षकी पार्वता, श्रीमती मनमाया, बुहारी रन्जना, नाति दीपक र नातिनी ५ वर्षकी गोमाको हत्या भएको प्रहरीले जनाएको छ ।
यो घरमा ७ जना रहेकोमा पार्वताका श्रीमान ८९ वर्षका बौद्धमान कार्की मात्र जीवित हुनुहुन्छ । कान नसुन्ने बौद्धमान बिहान उठेपछि मात्र घटना थाहा पाउनु भएको थियो । उहाँले ‘मेरा घरका मान्छे खेत गोड्न जान्छु भन्थे केटाकेटी कता गएछन्’ भनेर छिमेकीलाई बोलाउनुभएको थियो । त्यसपछि छिमेकीहरु आउँदा बाटोमा नै शव भेटिएको हो ।
बौद्धमानले हिजो बेलुकी खाना खाएर सुतेको र राति के भयो आफूलाई केही थाहा नभएको जानकारी दिनुभएको छ । कार्की परिवारका दुई सदस्य विदेशमा छन्। विदेशमा हुने एक जनाकी श्रीमतीको पनि हत्या भएको छ।
शव रगताम्मे अवस्थामा घरभन्दा ५० देखि सय मिटरसम्मको दूरीमा फरकफरक ठाउँमा फेला परेको मेयर विदुर लिङ्थेपले जानकारी दिनुभयो ।
धारिलो हतियार प्रहार गरेर लखेटीलखेटी हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ । संघीय प्रहरी इकाई कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहालको कमाण्डमा कुकुरसहितको फरेन्सिक टोली घटनास्थलमा गएको छ ।
यस्तै ओखरबोटे प्रहरी चौकी र अस्थायी प्रहरी पोस्टबाट प्रहरी परिचालन गरिएको छ । घटनास्थल नगरपालिका केन्द्रबाट ४ घण्टाको पैदल दूरीमा पर्छ । हत्याबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । एकै परिवारका ६ जनाको हत्या भएपछि उम्लिङ गाउँ शोकमा डुबेको छ ।
प्रतिक्रिया