एमालेद्वारा सभामुख र निर्वाचन आयोगविरुद्ध दायर मुद्दामा आज सुनुवाइ
२० भदौ २०७८ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको रिटमाथिको सुनुवाइ आज हुने भएको छ ।
रिटमाथि प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराको इजलासमा सुनुवाइ हुने भएको हो । यसअघि गत शुक्रबार न्यायाधीश मिरा खड्काको इजलासमा प्रारम्भिक सुनुवाइका लागि पेशी तोकिएको भए पनि सुनुवाइ हुन सकेको थिएन ।
निर्वाचन आयोगविरुद्धको रिट निवेदनमा एमाले फुटाउन बदनीयतपूर्ण र अनाधिकृत व्यक्तिको हस्ताक्षरलाई मान्यता दिइएको आरोप लगाइएको छ ।
रिटमा नेकपा एमालेबाट विभाजन भएर नेकपा एकीकृत समाजवादी दर्ता गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरिएको छ ।
त्यसैगरी अग्नीप्रसाद सभामुख सापकोटाले पार्टीले कारवाही गरेका एमालेका १४ जना सांसदको सूचना टाँस नगरेको तथा लुम्बिनी प्रदेशका सभामुखले पनि प्रदेश सांसदहरुलाई कारवाही गरेको सूचना टाँस नगरेको भन्दै रिट निवेदन दर्ता गराइएको थियो ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट अधिवक्ता बाबुराम दाहालले रिट दायर गर्नु भएको हो । रिटमा निर्वाचन आयोगमा माधवकुमार नेपालसहितले नयाँ दल दर्ताका लागि दिएको निवेदनमा हस्ताक्षर गर्नेहरु ५५ जना केन्द्रीय सदस्य भनेर गरेको दावी तथ्यसंगत नभएको दावी गरिएको छ ।
प्रतिक्रिया