Main News

यसरी ‘घर न घाट’को बन्यो वामदेव गौतमको राजनीति (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ १९ गते २१:०८
यसरी ‘घर न घाट’को बन्यो वामदेव गौतमको राजनीति (भिडियो रिपोर्टसहित)

१९ भदौ २०७८ काठमाडौं । हक्की स्वभावका वामदेव गौतम नेपाली राजनीतिमा चर्चित नाम हो । तर उहाँले नेकपा एमालेको उपाध्यक्षसहित सबै पदबाट राजीनामा गरिसक्नु भएको छ ।

आफ्नी श्रीमतीलाई नेकपा एकीकृत समाजवादीमा प्रवेश गराइसकेका गौतमले आफ्ना लागि भने जबज मान्नु पर्ने सर्त अघि सार्नु भएको छ । एमालेबाट राजीनामा र एकीकृत समाजवादीले जबजलाई मार्गदर्शक सिद्धान्त नमान्दा वामदेव गौतमको राजनीति यतिबेला घर न घाटको भएको छ ।

नेकपा विवाददेखि एमालेको विभाजनसम्म आइपुग्दा अन्तरपार्टी संघर्षमा सबैभन्दा धेरै प्रयोग भएका पात्रको नाम हो वामदेव गौतम । उहाँको अस्थिर चरित्रको फाइदा केपी शर्मा ओलीदेखि पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालसम्मले उठाए । त्यही चरित्रले एमालेको नवौँ महाधिवेशनका किङ मेकर रहेका गौतमको शक्ति अहिले आएर क्षयीकरण मात्र भएन, राजनीतिक रूपमा घर न घाटको हुनु परेको छ ।

महाधिवेशनपछि पनि एमालेभित्रको शक्ति संघर्षमा गौतम जता ढल्कियो, केन्द्रीय कमिटीमा उतै बहुमत पुग्ने स्थितिसमेत थियो । तर, नेकपा र पछि एमालेभित्रको गुटगत ध्रुवीकरणमा दुवै समूह उहाँको भर पर्न छाडे । एक्लिँदै गएका गौतमले पार्टी एकता अभियान चलाउँदा केन्द्रीय सदस्य हरि पराजुलीको मात्र साथ रह्यो । अहिले पराजुली र गौतमकी श्रीमती तुलसा थापाले समेत एकीकृत समाजवादी रोज्नु भएको छ ।

प्रतिनिधिसभा सदस्य चुनाव हारेका गौतमलाई अर्को कुनै सांसदलाई राजीनामा गराएर भए पनि संसदमा छिराएर प्रधानमन्त्री बनाउने सपना देखाइयो । त्यो सहज नभएपछि राष्ट्रपतिबाट राष्ट्रियसभामा मनोनीत हुने र संविधान संशोधन गरेर प्रधानमन्त्री बनाउनेसम्मका कोसिस भए । एक पटक जसरी भए पनि प्रधानमन्त्री बन्ने महत्त्वाकांक्षाले ७४ हिउँद काटिसकेका गौतमलाई वल्लो तिर न पल्लो घाट बनायो ।

ओली र प्रचण्ड–नेपालले पार्टीभित्रको गुट लडाइँमा गौतमलाई बारम्बार प्रयोग गरिरहे । कुनै बेलाका हक्की नेता गौतमलाई पदको लोभले ढुलमुले बनाइदियो । गौतमका गतिविधिमा विरोधाभाष देखियो ।

पार्टी एकता अभियान चलाएका गौतम नेपाल खनाल समूहले पार्टी खोले त्यतै लाग्छु भनेर सबैभन्दा पहिले वक्तव्य निकाल्ने पनि उहाँ नै हुनुभयो । अहिले एकीकृत समाजवादीमा पदको वार्गेनिङदेखि जनताको बहुदलीय जनवादलाई पथ प्रर्दशक सिद्धान्त मान्नु पर्ने सर्तले उहाँलाई फेरि यता न उताको बनाएको छ । किनकी त्यो सर्त मान्न नेपाल खनाल पक्ष सहमत छैन ।

पार्टी विभाजन पहिले नै नयाँ पार्टीमा जाने घोषणाले उहाँलाई एमालेमै बसिरहन नैतिक संकट परेपछि राजिनामा दिन बाध्य हुनु पर्यो । अनि छलफल र वार्ता अघि नै जवजलाई मार्गदर्शक सिद्धान्त मान्नु पर्ने सर्तले नयाँ पार्टी नेकपा एकीकृत समाजवादी प्रवेशको सम्भावना पनि कठिन देखिएको छ ।

एमाले परित्याग गरेको, उमेर र सहकर्मीले समेत साथ छोड्दै गएको अवस्थामा निसर्त एकीकृत समाजवादी प्रवेश वा राजनीतिबाट सन्यास लिनुबाहेक गौतमसामू अर्को बिकल्प दैखिदैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *