राजनीति

एमसीसीबारे बोली फेर्दै एमाले अध्यक्ष ओली, पहिला के भनेका थिए ? अहिले के भन्दैछन् (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ १९ गते २१:००
एमसीसीबारे बोली फेर्दै एमाले अध्यक्ष ओली, पहिला के भनेका थिए ? अहिले के भन्दैछन् (भिडियो रिपोर्टसहित)

१९ भदौ २०७८ काठमाडौं । नेपालमा सर्वाधिक चर्चा र विवादको विषय बनेको मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना नेताहरुका लागि खपतको विषय बनेको छ । गत वर्ष एमसीसी जसरी पनि पास गर्न लागिपरेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसमेत अहिले भने एमसीसीका विषयमा बहकिन थाल्नु भएको छ ।

सरकारले शुक्रबार मात्रै अमेरिकालाई पत्र लेखेर एमसीसी सम्झौतामा ‘इन्डो प्यासिफिक रणनीति’ को अंग भए–नभएको स्पष्ट पार्न भनेको छ । यहिबेला एमसीसीकी उपाध्यक्ष फतिमा सुमार नेपाल आउँदैछिन् ।

यता नेपालमा भने आफ्नै सरकारको पालामा संसदबाट अनुमोदनका लागि मरिमेटेर लागे पनि असफल भएका पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली एमसीसीबारे अस्पष्ट अभिव्यक्ति दिँदै कार्यकर्ता रिझाउन लागि परेको देखिन्छ ।

गत वर्ष तत्कालिन नेकपाभित्र विवादको विजारोपण गरेको एमसीसीलाई ओलीले यस वर्ष वर्तमान सरकारको विरोध गर्ने औजारका रुपमा उपयोग गर्न लागेको देखिएको छ ।

गत साउन २६ गते शेरबहादुर देउवा नेतृत्वले सार्वजनिक गरेको वर्तमान सरकारका न्यूनतम साझा कार्यक्रममा आफ्नो टिप्पणी राख्दै ओलीले दुईअर्थी अभिव्यक्ति दिनुभएको थियो । प्रतिनिधिसभाको रोष्टमबाट ओलीले वर्तमान सरकारले न्यूनतम कार्यक्रममा एमसीसीबारे केही नबोलेको भन्दै पास गर्न चुनौती दिनुभएको थियो ।

नेपालको सन्दर्भमा एमसीसी उचित छ पास गर्नुपर्छ वा उचित छैन पास गर्नुहुँदैन भन्नेभन्दा पनि ओलीको अभिव्यक्ति वर्तमान सरकारलाई ठेगान लगाउनेहरु गठबन्धनमै छन् भन्ने मसलामा आधारित थियो ।

तर प्रस्तुतीको शैली कार्यकर्तामाझ ओली एमसीसीको विपक्षमा छन् भन्ने सञ्चार गर्न प्रेरित थियो । सरकारबाट बाहिरिएपछि पार्टीका कार्यक्रममा एमसीसीबारे खासै नबोल्ने ओली बोल्नै परे संशोधन गरेर पास गर्नुपर्छ भन्ने संकेत दिने गरी विरोधमा उत्रिनु भएको छ । आफ्नो पार्टीभित्रैबाट एमसीसीको विषयमा विरोध हुँदा ओलीले एमसीसीको विरोध गर्नेहरुलाई हल्लाका भरमा कुद्ने काम भएको बताउनु भएको थियो ।

शनिबार मात्रै काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले वर्तमान सरकारमाथि विभिन्न प्रश्नहरुको वर्षा गराउँदा एमसीसीलाई पनि छुटाउनु भएन । विगतमा आफ्नो सरकारका पालामा एमसीसी पास गराउन साथ नदिएको ठहर गरेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई समेत ओलीले एमसीसीका हस्ताक्षरकर्ता भन्दै यसबारे नबोलेको आरोप लगाउनु भयो । त्यति मात्रै होइन एमसीसी देशका लागि गलत छ भन्ने सन्देश जाने गरी उहाँले झुक्याएर पास गर्न खोजिएकोसमेत आरोप लगाउनु भयो ।

एमसीसी कै विषयमा तत्कालीन नेकपाभित्र विवाद भएको, केन्द्रीय कमिटीले एमसीसीबारे अध्ययन गर्न नेता झलनाथ खनालको नेतृत्वमा समिति बनाएको, समितिले दिएको प्रतिवेदनमा भीम रावलको असहमतिका बावजुद ओली एमसीसी पारित गर्न हरसम्भव प्रयासमा लागेको स्पष्टै छ । पछिल्लो पटक पार्टी विभाजन भइसकेपछि ओली सस्तो खपतका लागि विगतको आफ्नो बोली परिवर्तन गर्न खोजेको देखिदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्