Main News

ठेकेदारको लापरवाहीले नागरिकको ज्यान जोखिममा-सरकार बन्छ मुकदर्शक (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ १८ गते २१:०५
ठेकेदारको लापरवाहीले नागरिकको ज्यान जोखिममा-सरकार बन्छ मुकदर्शक (भिडियो रिपोर्टसहित)

१८ भदौ २०७८ दाङ । दाङको सिस्ने खोलामा आएको भेल बाढीले गाडी बगाउँदा ४ जनाको मृत्यु भएपछि पुल निर्माणमा ठेकेदारले गरेको ढिलाई र ठेकेदारलाई कारवाही गर्न सरकारले देखाएको उदासिनता पुनः सतहमा आएको छ ।

सिस्ने खोलामा पक्कीपुल बनाउन थालेको ४ वर्ष भन्दा बढी भयो । तर,अहिलेसम्म पुल सञ्चालनमा आउन सकेको छैन । ठेकेदार, सडक डिभिजन कार्यालयको लापरबाहीका कारण समयमा पुल नबन्दा पटक पटक गाडी दुर्घटना भइ अकालमा ज्यान गुमाउँदै आएका छन् ।

सिस्ने खोलामा पक्की पुल बनाउनका लागि सडक डिभिजन कार्यालय दाङले साढे ४ वर्ष अघि, १८ महिनामा काम सक्ने गरी साढे सात करोड रुपैयाँमा एडभेन्चर जेभीलाई ठेक्का दिएको थियो । ४ वर्ष सम्म बितिसक्दा आयोजनाको ९० प्रतिशत काम मात्र सकिएको छ ।

ठेकेदारको लापरबाहीका कारण १० प्रतिशत काम हुन नसक्दा बारम्बार दुर्घटना भइ मानवीय क्षति हुने गरेको छ । कोरोनालाई कारण देखाउदै पछिल्लो पटक पुनः ६ महिना म्याद थपिएको छ । काम समयमै नसक्दा बस्तिमा बाढी पस्ने खतरा त छदै छ खोला वार पार गर्न समेत स्थानीयबासिन्दाले सकस खेप्दै आएका छन् ।

यस्तै घोराही, तुलसीपुर सडक खण्डको पत्रे खोलामा पनि पक्की पुल बनाउनको लागि ६ वर्षअघि १७ महिनामा काम सक्ने गरी, साढे तिन करोड रुपैयाँमा शंकर मालि निर्माण कम्पनीलाई ठेक्का दिइएको थियो । पुलनिर्माणको काम ९५ प्रतिशत सकिएको छ ।

बाँकी ५ प्रतिशत काम पुरा हुन नसक्दा यातायातका साधन खोलाबाट आउजाउ गर्दै आएका छन् । समयमै काम नसक्ने ठेकेदार कम्पनीलाई कारवाही गर्ने जिल्ला प्रशासन कार्यालयले बताएको छ ।

सयममा पुलनिर्माणको काम नसक्ने ठेकेदारलाई पक्राउ गर्नको लागि स्थानीय प्रशासनले प्रहरीलाई चिठ्ठी समेत काटेको छ । यद्यपी अहिलेसम्म त्यस्ता ठेकेदारलाई कारवाही गर्न भने प्रशासनले सकेको छैन । ठेकेदारले समेत टेर्न छोडेपछि प्रशासन पनि मुक दर्शक जस्तै बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *