Main News

विवेकशील साझा पार्टी पनि विभाजनको संघारमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ १८ गते २०:५५
विवेकशील साझा पार्टी पनि विभाजनको संघारमा (भिडियो रिपोर्टसहित)

१८ भदौ २०७८ काठमाडौं । नेपाली राजनीतिक दलहरुको टुटफुटको मुल चरित्रमा सुधार आउन सकेको छैन ।मुल धारका राजनीतिक दलदेखि वैकल्पिक भनिनेसम्मका दलहरु सानोसानो विषयलाई निहुँ बनाएर भान्छा छुट्याउनमा बहादुरी सम्झन्छन् । पछिल्लोपटक विवेकशील साझा पार्टी फुटको संघारमा पुगेको छ।

नेपाली राजनीतिमा वैकल्पिक शक्ति निर्माण गर्ने उद्देश्यका साथ स्थापना भएको विवेकशील साझा पार्टी एजेण्डाको विषयमा विवाद हुँदा फुटको संघारमा पुगेको हो । विवेकशील साझामा अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डे समूहले छुट्टाछुट्टै केन्द्रीय समितिको बैठक डाकेपछि फुटको रिहर्सल शुरु भएको हो । वैकल्पिक शक्ति बन्ने लक्ष्यका साथ अघि बढेको पार्टीमा परम्परागत दलकै जस्तै गुटगत प्रबृत्ति देखा परेको छ ।

स्वर्गीय उज्ज्वल थापाले स्थापना गरेको विवेकशील नेपाली पार्टी र बीबीसी नेपाली सेवाको जागिर छोडेर नेपाली राजनीतिमा होमिएका पत्रकार रवीन्द्र मिश्रले स्थापना गरेको साझा पार्टी २०७४ साउनमा एक भएका थिए । त्यसपछि २०७५ पुसमा उनीहरु विभाजित भए ।

२०७७ मंसिरमा मिश्रलाई अध्यक्ष र पाण्डेलाई संयोजक बनाएर एकता गरेका उनीहरु मिश्रले विचारभन्दा माथि देशका नाममा आफ्ना धारणा संचारमाध्यमबाट सार्वजनिक गरेपछि पुन फुटको अभ्यासमा लागेका हुन्। एकताका बेला ६ महिनाभित्र महाधिवेशन गर्ने सहमति गरेको पार्टीमा मिश्रले माग गरेको संघीयता खारेजी र धर्म निरपेक्षताका बिषयमा जनमत संग्रहको प्रस्तावले फुटलाई मलजल गरेको हो ।

भ्रष्टाचार र अनियमिताविरुद्ध लड्दै देशको नयाँ शक्ति बन्ने लक्ष्यका साथ स्थापना भएको भनिने पार्टीका अध्यक्ष मिश्रले संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रहसहितको प्रस्ताव एकलौटी ढंगले अगाडी सारेको भन्दै संयोजक पाण्डे समूहले आपत्ति प्रकट गरेको हो ।

विवादले उग्ररुप लिएपछि अध्यक्ष मिश्र र संयोजक पाण्डेको छुट्टाछुट्टै बैठक गरेका छन् । पार्टीको बिधान भन्दा पनि शीर्ष नेतृत्वबीच आ–आफनो एजेण्डालाई पार्टीमा घुसाउन खोज्दा पार्टीमा टकराव बढेको प्रवक्ता शरदराज पाठकको बुझाइ छ।

संयोजक पाण्डे पक्षले अध्यक्ष मिश्रले संघीयता, गणतन्त्र र धर्म निरपेक्षताका विषयमा प्रतिगमनको बाटो समातेको आरोप लगाएको छ । पार्टीमा बढेको विवादले सामाजिक संजालमार्फत् समेत दुबै पक्ष आरोपप्रत्यारोपमा उत्रिएको थियो । विवादका बीच मिश्रले एकलौटीरुपमा केन्द्रीय समिति बैठक बोलाएपछि संयोजक पाण्डेले पनि समानान्तर केन्द्रीय समिति बोलाएपछि पार्टी फुटको संघारमा पुगेको हो । यस बिषयमा पार्टीका पूर्व प्रवक्ता सूर्यराज आचार्य नियतमै खोट देख्नुहुन्छ ।

पार्टीको नाम र उद्धेश्य कागजमा जे लेखे पनि विवेकशील साझा पार्टी पनि नेपालका अन्य राजनीतिक दलकै सिकोमा अगाडी बढेको देखिन्छ । यसले बिवेकशील साझा पार्टीलाई पनि नयाँ बोलतमा पुरानै रक्सीको रुपमा चित्रण गर्न थालिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *