राजनीति

अन्ततः शुरु भयो कांग्रेसको १४औं महाधिवेशन प्रक्रिया (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ १८ गते २०:४०
अन्ततः शुरु भयो कांग्रेसको १४औं महाधिवेशन प्रक्रिया (भिडियो रिपोर्टसहित)

१८ भदौ २०७८ काठमाडौं । एक महिना अघिसम्म सत्तारुढ दल नेपाली कांग्रेसको महाधिवेशन हुने नहुनेमा आशंका थियो । पार्टी नेतृत्व नै महाधिवेशन समयमा सम्पन्न हुनेमा ढुक्क थिएन ।

जसरी पनि महाधिवेशन गर्नुपर्ने संवैधानिक बाध्यताका बीच आजबाट नेपाली कांग्रेस महाधिवेशनमा होमिएको छ । वडा तहको अधिवेशन शुरु भएसंगै अव कांग्रेसको महाधिवेशनको अन्योल हटेको छ ।

पटक पटक मिति तोकेर पनि सर्दै सर्दै मंसिर ९ गते देखि १३ गतेसम्मका लागि नेपाली कांग्रेसको महाधिवेशनको मिति तोकियो । पछिल्लो पटक तय भएको मिति मंसिरमा पनि महाधिवेशन हुने नहुने अन्यौल कायमै थियो । विभिन्न आशंका र अन्यौललाई चिर्दै सत्तारुढ नेपाली कांग्रेस महाधिवेशनको महाकुम्भमा होमिएको छ ।

महाधिवेशनको कार्यतालिका अनुसार शुक्रवारबाट वडा तहको अधिवेशन आरम्भ भएका छन् । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले भक्तपुरको सूर्यविनायक नगरपालिका स्थित कटुञ्जे पुगेर वडा अधिवेशनको उद्घाटन गरेसंगै कांग्रेस महाधिवेशनमा होमिएको हो ।

क्रियाशील सदस्यताको विवरण सार्वजनिक भएका ५६ जिल्ला मध्ये वडा अधिवेशनको पहिलो दिन शुक्रबार ४५ जिल्लामा अधिवेशन प्रारम्भ भएको महाधिवेशन निर्वाचन समितिले जानकारी दिएको छ ।

वडा तहको अधिवेशन सुरु भएको अवसरमा पार्टी सभापति शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरुले अधिवेशनको सफलताको शुभकामना दिनु भएको छ ।

वडा तहको अधिवेशन सुरु भएसंगै मंसिरमा हुने केन्द्रीय महाधिवेशन सुनिश्चित भएको कांग्रेस नेताहरुको भनाइ छ । वडा तहको अधिवेशन भदौ २६ गते सम्म सक्ने कांग्रेसले जनाएको छ ।

क्रियाशील सदस्य मतदाता रहेको वडा अधिवेशनबाट वडा कमिटी र क्षेत्रीय प्रतिनिधि चयन गरिने छ । महाधिवेशन प्रतिनिधि पनि वडा तहबाटै निर्वाचित क्षेत्रीय प्रतिनिधिले नै चयन गर्ने भएकाले वडा अधिवेशनलाई महत्वका साथ हेरिएको छ ।

वडा अधिवेशन सकिए लगत्तै २७ गते गाउँ र नगर अधिवेशन हुने छ । क्रियाशील सदस्यता विवादका कारण २१ जिल्लाको क्रियाशील सदस्यताको सुचि सार्वजनिक नभएका कारण सबै जिल्लामा एक साथ अधिवेशन सुरु हुन भने सकेन।

विधान अनुसार प्रत्येक ४ वर्षमा महाधिवेशन हुनुपर्ने भएपनि ५ वर्ष ६ महिना पछि वडाबाट महाधिवेशन कार्यक्रम सुरु भएको छ । विधान अनुसार एक वर्ष सम्म म्याद थप गर्न पाउने व्यवस्था गरिएको छ भने संविधानले दिएको सुविधा अनुसार थप ६ महिना भित्र महाधिवेशन गर्नैपर्ने संवैधानिक बाध्यता छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्