Main News

एमालेद्वारा सभामुख र निर्वाचन आयोगविरुद्ध दायर मुद्दामा आज सुनुवाइ नहुने

हिमालय टिभी
२०७८ भदौ १८ गते १३:१७
एमालेद्वारा सभामुख र निर्वाचन आयोगविरुद्ध दायर मुद्दामा आज सुनुवाइ नहुने

१८ भदौ २०७८ काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको रिटमाथि आज सुनुवाइ नहुने भएको छ ।

न्यायाधीश मीरा खड्काको एकल इजलासमा मुद्दाको सुनुवाइ गर्नेगरी पेशी तोकिएको थियो । तर आज न्यायाधीश खड्काको संयुक्त इजलास पनि परेकाले सुनुवाइ नहुने भएको हो ।

एमालेले गत बुधबार निर्वाचन आयोग, सभामुख अग्निप्रसाद सापकोटा र लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती विरुद्ध रिट निवेदन दर्ता गरेको थियो । निर्वाचन आयोगविरुद्धको रिट निवेदनमा बदनीयतपूर्ण र अनाधिकृत व्यक्तिहरुलाई हस्ताक्षर गरेर एमाले फुटाउन गरेको हस्ताक्षरलाई मान्यता दिएको भन्दै अन्तरिम आदेश माग गरिएको छ ।

त्यसैगरी सभामुख सापकोटाले एमालेले कारवाही गरेका एमालेका १४ जना सांसदको सूचना टाँस नगरेको तथा लुम्बिनी प्रदेशका सभामुखले पनि प्रदेश सांसदहरुलाई कारवाही गरेको सूचना टाँस नगरेको भन्दै रिट निवेदन दर्ता गराइएको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट अधिवक्ता बाबुराम दाहालले दायर गरेको रिटमा निर्वाचन आयोगमा माधवकुमार नेपालसहितले नयाँ दल दर्ताका लागि दिएको निवेदनमा हस्ताक्षर गर्नेहरु ५५ जना केन्द्रीय सदस्य भनेर गरेको दावी तथ्यसंगत नभएको दावी गरिएको छ । अब रिटमाथिको सुनुवाइ आइतबार मात्र हुने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *