कोरोनाविरुद्धको पूर्ण खोप लगाउनेको संख्या एक करोड नाघ्यो
१७ भदौ २०७८ काठमाडौं । देशभर पहिलो र पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या एक करोड नाघेको छ । अहिलेसम्म एक करोड ९२ हजार १६४ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
दुई करोड १७ हजारमध्ये ५४ लाख २४ हजार ८ सय ३६ जनालाई पहिलो मात्रा र ४६ लाख ६७ हजार ३ सय २८ जनालाई पूर्ण मात्रा लगाएको छ ।
प्रतिशतका हिसाबले पहिलो खोप लगाउने १८ र दुवै खोप लगाउने १५ दशमलव ४ प्रतिशत छन् । गत वर्ष माघ १४ गतेदेखि शुरु भएको कोरोनाविरुद्धको खोप अभियान उत्साहजनक ढङ्गले अघि बढेको देखिएको छ ।
कोरोना भाइरस र कोरोनाविरुद्धको खोप दुवै नयाँ भएकाले सुरु–सुरुमा स्वास्थ्यकर्मीहरूले समेत खोप लगाउन आनाकानी गरेका थिए ।
स्वास्थ्यकर्मी तथा अन्य व्यक्तिलेसमेत खोपबाट प्यारालाइसिस हुने, विभिन्न किसिमका रोग लाग्ने भन्दै खोप लगाउन मानेका थिएनन् ।
नेपालमा कोरोनाविरुद्धको खोप प्रयोग गर्न मात्र ल्याइएको हो भन्दै कतिपयले खोपलाई बहिष्कार गरेका थिए । तर विस्तारै खोपले मात्र कोरोनालाई परास्त गर्न सकिने प्रमाणहरू आएपछि मानिसले खोप लगाउन शुरु गरेका हुन् ।
अहिले खोप केन्द्रहरूमा खोप लगाउने मानिसको लामो लाम लाग्ने गरेको छ । सरकारले असोज मसान्तसम्म एक तिहाइ नागरिकलाई खोप पु-याउने लक्ष्य राखेको छ ।
प्रतिक्रिया