Main News

चिडियाखानाका जनावरलाई खाद्यान्न व्यवस्थापन गर्न यस्तो धौ–धौ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ १७ गते ७:०१
चिडियाखानाका जनावरलाई खाद्यान्न व्यवस्थापन गर्न यस्तो धौ–धौ (भिडियो रिपोर्टसहित)

१७ भदौ २०७८ काठमाडौं । कोरोना भाइरस संक्रमण जोखिमका कारण लामो समय बन्द रहेर गत साउन १ गतेदेखि सञ्चालनमा आएको राष्ट्रिय चिडियाखानामा घुम्न जानेको संख्या न्यून हुँदा आम्दानी घटेको छ ।

जसका कारण चिडियाखानाका जनावरहरुलाई खाद्यान्नको व्यवस्थापन गर्न राष्ट्रिय प्रकृति संरक्षण कोषलाई धौ–धौ परेको छ ।

कोरोना संक्रमण जोखिमका कारण लामो समय बन्द रहेको जावालाखेलस्थित सदर चिडियाखाना अहिले खुल्ला छ । तर दैनिक ६ सय जनालाई मात्र प्रवेश दिने गरिएको छ । सामान्य अवस्थामा दैनिक २ हजार चिडियाखाना पुग्ने गरेका थिए । चिडियाखानाको आयको मुख्य श्रोत नै टिकटबाट उठ्ने रकम हो ।

अहिले घुम्न नै थोरै आउने भएपछि चिडियाखाना आर्थिक समस्यामा परेको छ । यसअघि बार्षिक १४ करोड आम्दानी हुने गरेको चिडियाखानामा अहिले आधा जस्तो आम्दानी घटेको छ । यसले जनावरहरुको साथसाथै कर्मचारीको व्यवस्थापन समेत प्रभावित बनेको छ ।

कोरोना संक्रमण दरमा कमी आएपछि स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रुपमा पालना गर्दै गत साउन १ गतेदेखि चिडियाखाना सञ्चालनमा आएको हो ।

मानिसबाट जनावर र जनावरबाट मानिसमा सर्ने रोगहरुलाई रोक्न अन्तर्राष्ट्रियस्तरका चिडियाघरहरुमा पालना र लागू गरिएका नियमहरु अवलम्बन गरिएको कोषको दाबी छ ।

कोरोना महामारीको यो बेलामा पनि जीवजन्तुहरुको खाद्यान्नमा भने चिडियाखानाले कुनै सम्झौता गरेको छैन । सामान्य अवस्थामा चिडियाखानाको बार्षिक आम्दानी १४ करोडसम्मको हुने गरेको थियो ।

जसमध्ये जनावरको खानेकुराका लागि मात्र करिब ४ करोड रुपैयाँ खर्च हुने गरेको थियो । तर अहिले बार्षिक ८ करोडको हाराहारीमा पनि आम्दानी नभएकाले समस्या उत्पन्न भएको हो ।

जनावरहरुलाई खुवाउनै समस्या भएपछि कोषले गत फागुनमा जनावरको अभिभावकत्व ग्रहण गरौं भन्ने अभियान नै सञ्चालन गरेको छ । जसअनुसार अहिले ३६ जना व्यक्तिले कुनै एक जनावरको अभिभावकत्व लिएका छन् ।

अभिभावकत्व लिनेले वन्यजन्तुको आहारा, स्याहार र स्वास्थोपचार लगायत सम्पूर्ण खर्च बेहोर्छन् । यस्तो सहयोग बढ्दै गए चिडियाखानाका जनावरहरुलाई खाद्यान्नको अभाव नहुने कोषले जनाएको छ ।

चिडियाखानामा ३६ प्रजातीका २ सय ९९ स्तनधारी, १० प्रजातिका ४८ सरिसृप, १५ प्रजातीका ४१ मत्स्य र ५२ प्रजातिका ६ सय ९ पंक्षी गरी १ सय १३ प्रजातिका ९ सय ९७ वटा वन्यजन्तु छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *