राजनीति

एमालेका १० सांसदले एकीकृत समाजवादी रोजेपछि प्रदेश १ का मुख्यमन्त्री अल्पमतमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ १६ गते २१:१५
एमालेका १० सांसदले एकीकृत समाजवादी रोजेपछि प्रदेश १ का मुख्यमन्त्री अल्पमतमा (भिडियो रिपोर्टसहित)

१६ भदौ २०७८ विराटनगर । नेकपा एमालेका १० सांसदले नेकपा एकीकृत समाजवादी दल रोजेसँगै प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्य नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

माधवकुमार नेपाल समूहमा रहेका सांसदलाई रोक्न एमालेले नेपाल समूह छाडेर आएका आचार्यलाई भदौ १० गते मुख्यमन्त्री बनाएको थियो । तर, नेपाल समूहका १० सांसदले समाजवादी रोजेका कारण आचार्यको सरकार एक महिना पनि नटिक्ने देखिएको छ ।

प्रदेश १ मा सरकार बनाउन ४७ सांसदको समर्थन आवश्यक छ । तर १० जना सांसद नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेपछि अब सत्तारुढ नेकपा एमाले ४० सांसदमा सीमित भएको छ ।

जसका कारण मुख्यमन्त्री भीमप्रसाद आचार्यको सरकार अल्पमतमा परेको छ । सरकार अल्पमतमा परेपछि समाजवादी लगायतका बिपक्षी गठबन्धनले मुख्यमन्त्री आचार्यको राजीनामा मागेका छन् । राजीनामा नदिए अविश्वासको प्रस्ताव ल्याएर आचार्यको सरकार ढाल्ने विपक्षी गठबन्धनको योजना छ ।

प्रदेश एकको प्रदेश सभामा अहिले नेपाली काँग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ र राप्रपाका १ सांसद छन् ।

राप्रपाकी ईन्दिरा राईबाहेक सबै विपक्षी गठबन्धनमा आबद्ध रहेकाले एकीकृत समाजवादीमा १० सांसद आबद्ध भएसँगै गठबन्धनको पक्षमा ५० सांसद पुगेका छन् । सांसदको यो जोडघटाउले पार्टीको लाइन परिवर्तन गरेर भए पनि मुख्यमन्त्री बन्न सफल आचार्यलाई झड्का लागेको छ ।

प्रदेशको अंक गणित आफू अनुकूल नदेखिँदा पनि मुख्यमन्त्री आचार्य भने प्रदेश सभाबाट विश्वासको मत लिने योजनामा हुनुहुन्छ । आचार्य तत्कालै मुख्यमन्त्रीको पदबाट राजीनामा दिएर बिपक्षी गठबन्धनलाई सरकार निर्माणको लागि मार्ग प्रशास्त गर्ने पक्षमा हुनुहुन्न ।

संविधानको धारा १ सय ६८ को उपधारा १ अनुसार नियुक्त भएकाले मुख्यमन्त्री आचार्यलाई प्रदेशसभामा विश्वासको मत लिनुपर्ने बाध्यता छैन । तर सरकारको नेतृत्व गरेको दल विभाजन भएकाले कानुनु अनुसार उहाँले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्