राजनीति

कांग्रेस महाधिवेशनको मिति नजिकिँदै जाँदा उम्मेदवारी घोषणा गर्ने लहर (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ १६ गते २१:००
कांग्रेस महाधिवेशनको मिति नजिकिँदै जाँदा उम्मेदवारी घोषणा गर्ने लहर (भिडियो रिपोर्टसहित)

१६ भदौ २०७८ काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनको मिति नजिकिँदै जाँदा उम्मेदवारी घोषणा गर्ने लहर शुरु भएको छ । केही दिन अघि गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नु भएको थियो ।

आज केन्द्रीय सदस्य कल्याण गुरुङले सभापतिमा उम्मेदवार बन्ने घोषणा गर्नुभयो । गुरुङको घोषणाले नेपाली कांग्रेसमा सभापतिको आकांक्षीहरु अझै बढ्ने देखिएको छ ।

राजनीतिक दलको महाधिवेशन भन्नासाथ नेतृत्व चयनको विषय त प्रधान हुन्छ नै । नेतृत्वसंगै आगामी कार्यकालको योजना, नीति र मार्ग प्रसस्त गर्दछ महाधिवेशनले । तर नेपालका राजनीतिक दलहरुको महाधिवेशनमा न विचारको छलफल हुन्छ न नीति नै तय गरिन्छ ।

जसरी पनि आफू र आफ्ना गुटलाई जिताउन महाधिवेशनमा कम्मर कस्ने प्रचलनले कुनै राजनीतिक दल र तिनका नेता अछुतो छैनन् । बारम्बार सारेर आगामी मंसिरमा संबैधानिक बाध्यताले महाधिवेशन गर्न कस्सिएको नेपाली कांग्रेसको चौधौ महाधिवेशनमा पनि नीतिको भन्दा नेतृत्वको चर्चा र चासो बढेको छ।

संस्थापन पक्ष अर्थात् प्रधानमन्त्री शेरबहादुर देउवा र इतर पक्षमा विभाजित काँग्रेसमा यतिबेला सभापति र अन्य पदमा उम्मेदवारी दाबी र घोषणाको क्रमले गति लिएको छ। सभापति देउवा र इतर पक्षलाई आआफ्ना गुटमा सर्वसम्मत् सभापतिको उम्मेदवार छान्न सकस भइरहेका बेला केही युवा नेताले भने आफ्नो उम्मेदवारी पत्रकार सम्मेलनमार्फत् घोषणा गर्न थालेका छन् ।

केही दिन अघि युवा नेता तथा केन्द्रीय सदस्य गगन थापाले महामन्त्रीमा दाबी पेश गरेपछि अर्का युवा नेता कल्याण गुरुङले भने सभापतिमै उम्मेदवारी दिने दाबी गर्नुभएको छ।

युवा नेता गुरुङले पार्टी कार्यक्रममा यसअघि नै सभापतिमा उम्मेदवारी दिने दाबी गरे पनि औपचारिकरुपमा पत्रकार सम्मेलनमार्फत् सभापतिको उम्मेदवारी घोषणा गर्नुभएको हो ।

गुरुङको घोषणासंगै काँग्रेस महाधिवेशनमा सभापतिका आकाँक्षीको संख्या बढ्दै गएको छ। विगतमा सभापति देउवाका विश्वासपात्र उपसभापति विमलेन्द्र निधिले त सभापतिको उम्मेदवारी घोषणासँगै कार्यालयसमेत स्थापना गरिसक्नु भएको छ।

सभापति देउवा आफै दोहोरिन चाहेको आगामी महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष भने हाँस न कौवाको चाल भएको छ। आफ्नै समूहमा सभापति र पदाधिकारीको आकाँक्षी धेरै भएपछि पौडेल पक्षलाई हम्मे परेको छ। पौडेल पक्षका नेता अर्जुननरसिंह केसीले भने आफ्नो समूहबाट सर्वसम्मत् उम्मेदवार खडा गरिने दाबी गर्नुभएको छ।

कांग्रेसको आगामी कार्यकालका लागि सभापतिमा देउवा र पौडेलसंगै डा शेखर कोइराला , वर्तमान महामन्त्री तथा वीपी पुत्र डा शसांक कोइरालाले समेत दाबी गर्दै आउनुभएको छ। पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता गोपालमान श्रेष्ठ लगायतले पनि सभापतिमा दाबी गरिरहँदा महामन्त्रीमा भने युवा नेताहरुको आकाँक्षा बढी देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्