Main News

कर्णालीमा तीन जना एमाले सांसदले एकीकृत समाजवादी रोजे

हिमालय टिभी
२०७८ भदौ १६ गते १५:०३
कर्णालीमा तीन जना एमाले सांसदले एकीकृत समाजवादी रोजे

१६ भदौ २०७८ सुर्खेत । कर्णाली प्रदेशसभामा नेकपा (एमाले) का तीन सदस्यले नेकपा (एकीकृत समाजवादी) का पक्षमा सनाखत गरेका छन् ।

प्रदेशसभा सदस्य चन्द्रबहादुर शाही, देवीओली र पद्म रोकायाले आज प्रदेश निर्वाचन कार्यालय सुर्खेतमा पुगेर नेकपा(एकीकृत समाजवादी) का पक्षमा सनाखत गर्नुभएको हो ।

प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले तीनै जना प्रदेशसभा सदस्य कार्यालयमा उपस्थित भएर नेकपा (एकीकृत समाजवादी) रोजेको जानकारी दिनुभयो । उहाँले हालसम्म स्थानीय तहका जनप्रतिनिधि भने नयाँ दलमा आवद्ध हुन सनाखतका लागि प्रदेश निर्वाचन कार्यालयमा नआएको बताउनुभयो ।

कर्णाली प्रदेशसभामा एमालेका सभामुखसहित २० सदस्य थिए । प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिं बुढालाई ह्विप उल्लङ्घन गरेको आरोपमा पार्टीले कारवाही गरी पदमुक्त गरेको थियो ।

हाल कायम रहेका १६ मध्ये तीन जनाले नयाँ दल रोजेपछि अब प्रदेशसभामा एमाले सदस्यको सङ्ख्या १३ मा झरेको छ । प्रदेशसभामा नेकपा माओवादी केन्द्रका १२, नेपाली कांगे्रसका छ, राप्रपाका एक सदस्य छन् भने नवगठित नेकपा (एकीकृत समाजवादी)का तीन सदस्य भएका छन् । निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी अध्यादेश अनुसार प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दल रोज्न भदौ २२ गतेसम्मको समय दिएको छ ।

नेकपा (एकीकृत समाजवादी) रोज्नेमा मुगुबाट निर्वाचित शाही एमालेको केन्द्रीय सदस्य हुनुहुन्थ्यो । रुकुम पश्चिमकी वली प्रदेशसभामा सामाजिक विकास समितिको अध्यक्ष र निर्वाचन आयोगमा दर्ता हुँदा नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ ।

त्यस्तै, रोकाया जुम्लाबाट प्रत्यक्ष निर्वाचित सदस्य हुनुहुन्छ । वलीले वैशाख ३ गते नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि सच्याउनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *