Main News

वर्षासँगैको बाढी र पहिरोले देशका दर्जन बढी सडक बन्द

हिमालय टिभी
२०७८ भदौ १५ गते ७:५८
वर्षासँगैको बाढी र पहिरोले देशका दर्जन बढी सडक बन्द

१५ भदौ २०७८ काठमाडौं । मनसुनी वायुको सक्रियताका कारण आएको वर्षासँगै पछिल्लो पाँच दिनमा देशभरका दर्जन बढी सडक सञ्जाल बन्द भएका छन् ।

काठमाण्डौ उपत्यकाबाट हेटौँडा जाने कान्ति लोकपथ सडकअन्तर्गत भट्टेडाँडामा पहिरो जाँदा उक्त खण्ड अवरुद्ध छ । चन्द्रागिरि नगरपालिकाको चिसापानीमा बन्द भएको पृथ्वी राजमार्ग भने खुलेको प्रहरीले जनाएको छ ।

यस्तै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ थिङडाँडामा पहिरो जाँदा कुलेखानी–सिस्नेरी–काठमाण्डौ सडक बन्द छ । मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको हसेली तुवाचुङमा पनि पहिरोले सडक बन्द छ ।

यता सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका लिपिङमा अरनीको राजमार्गको अवरोध अझै हटेको छैन । सिन्धुपाल्चोककै मेलम्ची–जिरोकिलो सडक पनि बन्द छ ।

साथै बेसीसहर–चामे सडक अन्तर्गत मनाङ खण्ड र स्याङ्जाको गल्याङमा सिद्धार्थ राजमार्ग बन्द छन् । बेनी–जोमसोम सडक खण्डको म्याग्दी र मुस्ताङका तीन ठाउँमा सडक बन्द छ ।

यता पाल्पाको तानसेनमा रहेको डुम्रे र गौडेपुलमा सिद्धार्थ राजमार्ग बन्द रहेको छ । प्युठानको चोरनेटामा पहिरो जाँदा भालुवाङ–प्युठान सडक खण्ड बन्द छ ।

यस्तै कर्णाली राजमार्ग अन्तर्गत कालीकोट र दैलेख जिल्लामा सडक बन्द भएको छ । पहिरोले अवरुद्ध बाजुराको साँफे–मार्तडी सडक मर्मत भइरहेको सडक विभागले जनाएको छ ।

गएको जेठ ३० गतेपछि देशका विभिन्न सडकको दुई सय चार वटा ठाउँमा बन्द भएकोमा १६ ठाउँमा अझै अवरोध रहेको सडक विभागले जनाएको छ ।

एक सय १७ ठाउँको सडक एकतर्फी रूपमा सञ्चालन भइरहेको छ भने ६८ ठाउँको सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ । निरन्तरको वर्षासँगै सडकमा पहिरोको जोखिम बढेकाले सचेतता पुर्वक यात्रा गर्न सडक विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *