आज मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी, सत्ता गठबन्धनको बैठक बस्दै

१५ भदौ २०७८ काठमाडौं । पदको बाँडफाँट गरी मन्त्रिपरिषद्लाई पूर्णता दिन पाँच दलीय सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ।
आज सहमति गरेर भोली मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छ । प्रधानमन्त्री भएको ५० दिनपछि मन्त्रिपरिषदलाई पूर्णता दिन सत्तारुढ दलहरु छलफलमा जुटिरहेका छन् । आज बस्ने बैठकले पाँच दलबीच बाँकी मन्त्रालयको भागबण्डा गरेर सहमति जुटाउने तयारी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
आज सबै मन्त्रालयमा भागबण्डा मिलाएर भोलि मन्त्रिपरिषद् विस्तार गर्ने गरी आज शीर्ष नेताहरुबीच छलफलको तयारी भएको हो। सरकार विस्तारबारे सहमति जुटाउन आइतवार र सोमबार सत्तारुढ दलका शीर्ष नेताहरुले छलफल गरेका थिए। तर सत्ता साझेदार सबैले आफ्नो अडान नछाडेपछि सहमति हुन सकेको छैन ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आजसम्म मन्त्रालयको भागबण्डा टुंगो लगाएर मन्त्री छान्ने बताइसक्नु भएको छ । तर कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका तीन शीर्ष नेताबीच कांग्रेसले आठ मन्त्रालय, माओवादीले सात, एकीकृत समाजवादीले पाँच र जसपाले चारवटा मन्त्रालय लिने प्रस्ताव गरिएको छ ।
साथै एकीकृत समाजवादी र जसपालाई दुई–दुईवटा मन्त्रालय रोज्न दिइने र त्यसबाहेक आवश्यकताअनुसार मन्त्रालय बाँडफाँड गर्नेबारे तीन नेताबीच छलफल भएको छ । अन्तिम सहमति भने आजको बैठकमार्फत खोजिनेछ ।
माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले ६६ मन्त्रालय दाबी गरेका छन् । असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले ५० दिन भइसक्दा पनि सरकार विस्तार गर्न नसक्दा चर्को आलोचना खेपिरहनु भएको छ ।
प्रतिक्रिया