उपचार गरेर नेपाल फर्केलगत्तै पूर्वप्रधानमन्त्री खनालले गरे ओलीको यस्तो आलोचना (भिडियो रिपोर्टसहित)
१४ भदौ २०७८ काठमाडौं । पूर्व प्रधानमन्त्री एवम नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले काठमाण्डौ आउने वित्तिकै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गर्नुभएको छ ।
भारतमा उपचार गरेर स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसित वरिष्ठ नेता खनालले ओली दक्षिणपन्थी अवसरवादी भएको आरोप लगाउनुभयो । एमालेबाट आफूहरुले विद्रोह गरेको भन्दै खनालले नयाँ पार्टीलाई कमजोर नठान्न चेतावनी दिनुभयो ।
नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता खनालले आफूहरुले ओली सरकार ढालेर निरंकुशता ढालेको भन्दै खुशी व्यक्ति गर्नुभयो । ओली सरकारलाई कम्यूनिष्ट सरकार भन्न नमिल्ने टिप्पणी गर्दै खनालले गोहीका आँसु झार्नु नपर्ने बताउनुभयो ।
उपचारपछि आफूले नयाँ र नाफाको जीवन पाएको भन्दै खनालले आगामी दिनमा कुनैपनि कार्यकारी पदमा दाबी नगर्ने घोषणा गर्नुभयो ।
विमानस्थलमा पूर्व प्रधानमन्त्री खनालको नेता कार्यकर्ताले नाराबाजी गर्दै स्वागत गरेका थिए ।
खनाललाई स्वागत गर्न विमानस्थलको विशिष्ट कक्षमा पार्टीका अध्यक्ष माधवकुमार नेपाल, नेताहरु बेदुराम भुसाल, मुकुन्द न्यौपाने, प्रमेश हमाल, राजेन्द्र पाण्डे लगायत पुग्नु भएको थियो ।
प्रतिक्रिया