Main News

सार्वजनिक निकायको खरिद प्रक्रिया पारदर्शी बनाउन सूचना आयोगको निर्देशन

हिमालय टिभी
२०७८ भदौ १४ गते १५:०२
सार्वजनिक निकायको खरिद प्रक्रिया पारदर्शी बनाउन सूचना आयोगको निर्देशन

१४ भदौ २०७८ काठमाडौं । राष्ट्रिय सूचना आयोगले सार्वजनिक निकायमा हुने खरिद प्रक्रिया पारदर्शी बनाउन निर्देशन दिएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएका खरिद प्रक्रिया र सम्झौता वेबसाइटमार्फत् सार्वजनिक गर्ने आदेशको मागसहित कपिलवस्तुका अनुप पन्थीले दिएको निवेदनमा सुनुवाइपछि आयोगले यस्तो निर्देशन दिएको हो ।

आयोगका प्रवक्ता कमला ओलीका अनुसार, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिका नाममा सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा १९ (छ) बमोजिम खरिद प्रक्रिया सार्वजनिक गर्न आदेश दिने निर्णय भएको छ ।

यस्तै सार्वजनिक खरिदका सन्दर्भमा नेपाल सरकारका निकायका हकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयमार्फत, प्रदेशस्तरका सार्वजनिक निकायका हकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मार्फत र स्थानीय तहका हकमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत सार्वजनिक खरिद प्रक्रिया सम्बन्धी जानकारी सार्वजनिक गर्न निर्देशन दिइएको छ ।

आयोगले जारी गरेको विज्ञप्तिमा खरिद प्रक्रियामा पारदर्शिताको अभावमा अनियमितता हुन सक्ने भन्दै खरिद तथा खर्चको विवरणबारे सर्वसाधारण नागरिकले थाहा पाउनु आवश्यक रहेको उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *