Main News

वर्षासँगै पहिरो जाँदा देशका विभिन्न राजमार्ग अवरुद्ध

हिमालय टिभी
२०७८ भदौ १३ गते १३:०९
वर्षासँगै पहिरो जाँदा देशका विभिन्न राजमार्ग अवरुद्ध

१३ भदौ २०७८ काठमाडौं । पहिरोका कारण मुलुकका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । सिद्धार्थ राजमार्गको पाल्पा खण्ड र पाल्पाका ग्रामीण क्षेत्रका सडक पहिरोले अवरुद्ध भएको छ ।

सिद्धार्थ राजमार्ग अन्तरगत पाल्पा–बुटबल खण्डका ६ स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको हो । तिनाउ गाउँपालिकाको जोरधारा, सिद्धबाबा, सिसुवा, हिउँदेखोला, केराबारी क्षेत्रमा पहिरो खसेको हो ।

त्यस्तै तानसेन नगरपालिकाको बर्तुङ चोक नजिकै, बगनासकाली गाउँपालिकाको धैरेनी, सेरा, रम्भा गाउँपालिकाको सीता पहाडमा पहिरो खस्दा सिद्दार्थ राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

तानसेन नगरपालिकाको सम्मोबारीमा पहिरो खस्दा यातायातका साधन सञ्चालनमा समस्या भएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पहिरो हटाउन पहल भएपनि वर्षाका कारण समस्या भएको छ ।

अविरल वर्षातका कारण त्रिभुवन राजपथको नौबिसे चिसापानीमा पहिरो गएपछि राजमार्ग ठप्प भएको छ । बिहान पहिरो गएपछि सवारी साधनहरु राजमार्गमै रोकिएका छन् ।

बिहीबारदेखि नवलपरासी र मुग्लिनमा रोकिएर सास्ती खेपेका हजारौं यात्रुहरुलाई आज बिहान राजधानी पुग्ने समयमा खसेको उक्त पहिरोले फेरि रोकिदिएको छ । सवारी चापले उपकरण ल्याएर पहिरो हटाउन समस्या भइरहेको प्रहरीले जनाएको छ ।

ठूलो पहिरो संगै आएको ठूला रुखहरु पन्छाउन समय लाग्ने र पहिरो पन्छाउनको लागि सुरुङ्ग मार्गको डोजोर बोलाएको थानकोट नागढुङ्गा प्रहरी चेकपोस्टका प्रहरी निरीक्षक त्रिभुवन थापाले बताउनुभयो ।

लगातारको वर्षा र बाढीसँगै निरन्तर पहिरो खस्दा हेलम्बु राजमार्ग पुनः अवरुद्ध भएको छ। मेलम्ची नगरपालिका–१३ स्थित रातोपहरोमा पहिरो खसिरहेकाले मेलम्ची–जिरोकिलो सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। निरन्तर पहिरो झरिरहेकाले तत्काल पन्छाएर सडक सञ्चालनमा ल्याउने अवस्था नरहेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

यसैबीच वर्षाका कारण घर भत्किएर च्यापिदा पाल्पामा एक बालिकाको मृत्यु भएको छ । तानसेन नगरपालिका ५ कैलाशनगरका नारायण बहादुर दर्जीकी १० वर्षीय छोरी नैना आफनै घरमा सुतिरहेको अवस्थामा ढुङ्गा र माटोले च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *