राजनीति

आफ्नो साथ छाडेका दोस्रो पुस्ताका नेतालाई पार्टीमा आएर नेतृत्व लिन अध्यक्ष नेपालको आग्रह (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ १२ गते १७:५७
आफ्नो साथ छाडेका दोस्रो पुस्ताका नेतालाई पार्टीमा आएर नेतृत्व लिन अध्यक्ष नेपालको आग्रह (भिडियो रिपोर्टसहित)

१२ भदौ २०७८ काठमाडौं । नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना साथ छाडेका एमालेका दोस्रो पुस्ताका नेताहरुलाई पार्टीमा आउन आह्वान गर्नु भएको छ ।

अध्यक्ष नेपालले पार्टी विभाजनपछि आफूहरुलाई साथ नदिएका एमालेका दोस्रो पुस्ताका नेताहरु पार्टीमा आए नेतृत्व छोड्न तयार रहेको घोषणा समेत भयो । आफ्नो पार्टी निकट पेशागत महासंघ, नेपाल बागमती प्रदेश समितिले आज ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आफूले पदका लागि कहिल्यै पनि लडाइँ नगरेको पटकपटक दोहो¥याउनु भयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘आउनुहोस् दोस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न म अहिले पनि तयार छु । आउनुहोस्– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को अध्यक्ष बन्नुहोस् । म अध्यक्ष पदबाट त अहिल्यै भनि हाल्छु, अनि केही वर्षपछि राजनीतिबाटै विदा भइहाल्छु, भएन ? पदको लडाई होइन, यो । विचारको लडाई हो, यो । सिद्धान्तको लडाई हो यो । मूल्य र मान्यताको लडाई हो यो ।’

अध्यक्ष नेपालले केपी ओली प्रतिगामी कदम सच्याउन तयार नभएपछि नयाँ पार्टी पुनर्गठन गर्नु परेको तर्क समेत गर्नु भयो । उहाँले आफूविरुद्ध ओलीले कुप्रचार गरेको भन्दै आक्रोश समेत व्यक्त गर्नु भयो । आफूविरुद्ध कुप्रचार भइरहेको भन्दै अध्यक्ष नेपालले त्यस्ता झुट प्रचारको भ्रममा नपर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘खाली कूप्रचार बाहेक केही पनि छैन । यस्ता झुटा प्रचारको भ्रममा कोही पनि नपर्नुहोस् । उनीहरुको काम नै गोयबल्स शैलीको प्रचार गर्ने हो । मान्छेको चरित्र हत्या गर्ने प्रवृत्ति हो । यस्ता प्रवृत्ति भएका मान्छेहरु इमान्दार, क्रान्तिकारी कम्युनिष्ट हुन सक्छन ?’

अध्यक्ष नेपालले समाजवादको बाटो तय गर्दै देश र जनताको हितमा केन्द्रित भई काम गर्ने आफ्नो पार्टीको लक्ष्य रहेको पनि बताउनु भयो । सो अभियानमा पदलोलुप नभई काम गर्न उहाँले पार्टीका नेता, कार्यकर्तालाई पनि निर्देशन दिनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्